१६ चैत्र २०७३, बुधबार
  • दीपक उपाध्याय,

कैलाली । दुर्लभ पाटेबाघको छाला सहित बुुधवार प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट एक जनालाई पक्राउ गरेको छ ।


बाघको छाला तस्करी गिरोहमा संलग्न डडेल्धुरा स्थित परशुराम धाम नगरपालिका–५ का १८ वर्षीय सनम जाग्रीलाई पक्राउ गरेको हो । तस्करीमा संलग्न अर्का एक व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


गोप्य सूचनाका आधारमा सीआइबीको केन्द्रीय टिम र कैलाली प्रहरीको संयुक्त टोलीले अभियुक्तलाई बाघको छाला सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरबहादुर बुढामगरले बताए । फरार भएका व्यक्तिको खोजी कार्य भइरहेको उनले जनाएका छन् ।
बुढामगरका अनुसार बिक्री गर्ने उद्देश्यका साथ भारतबाट उक्त छाला ल्याइएको सोधपुछका क्रममा खुलेको छ । विश्वमा अत्यन्त दुर्लभ मानिने उक्त बाघको छालाको लम्बाई १० फिट छ ईन्च र चौडाई दुई फिट १० ईन्च रहेको छ ।
सीआइबी सहित प्रहरी टोलीले ग्राहक बनेर पण्डित रेडी वाटर भन्ने पसलबाट छाला सहित एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

LIVE TV