१६ चैत्र २०७३, बुधबार

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापासँग बेग्लाबेग्लै भेटी आसन्न स्थानीय तहको चुनाव र सुरक्षाबारे द्विपक्षीय सहकार्य सम्बन्धमा छलफल गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार ओहोदाको प्रमाणपत्र पेस गरेलगत्तै भारतीय राजदूत पुरीले उच्चस्तरीय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् ।गृह मन्त्रालयमा भएको भेटमा मन्त्री निधिले स्थानीय चुनावमा भारतबाट सहयोग हुने अपेक्षा व्यक्त गरेका थिए ।

भेटमा सहभागी भारतीय दूतावासका उपप्रमुख विनयकुमारले सामाजिक सञ्जालमा ट्विट गरेअनुसार राजदूत पुरीले चुनावमा सहयोग सम्बन्धमा भारतले सोचविचार गर्ने बताएका थिए ।

मन्त्री निधि र राजदूत पुरी आतंकवादी खतराको प्रतिवादमा नेपाल र भारत सहकार्य गर्न सहमत भएको उपप्रमुख विनयकुमारले जनाएका छन् । भेटमा निधिले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।

उपप्रधानमन्त्री थापासँगको भेटमा दिगो विकासका लागि जनस्तरमा नेपाल र भारतले सहकार्य गर्ने सम्बन्धमा छलफल भएको थियो । ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भारतीय राजदूत पुरीले सबैभन्दा पहिले कांग्रेस सभापति शेरबहादुर देउवासँग आइतबार दुई घन्टा डिनर बैठक गरेका थिए ।

उनले सोमबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गरेका थिए ।अन्नपूर्णपोष्ट बाट

LIVE TV