१५ चैत्र २०७३, मंगलवार
  • राजु पौडेल,

झापा । कन्काईको कहर झापावासीका लागि महंगो बन्दै आएको छ । वर्खा महिना लाग्नासाथ विछट्टैसंग तमासा र ताण्डव मच्चाउने कन्काईले वर्षेनी धेरै झापावासीलाई विस्थापित मात्र तुल्याइरहेको छैन, हजारौ खेतीयोग्य जमिनलाई वगरमा समेत परिणत गर्दै आएको छ ।

 धानको लागि उर्वर भूमि मानिएको झापामा कन्काईले गर्दै आएको कटानले यस्को परम्परागत परिचयमा पनि क्षति पु¥याउने काम गर्दै आएको छ । तर कन्काईको कथा सरकारले नसुनेपछि स्थानीय कन्काईलाई कस्न आफै अग्रसर भएका छन् ।


झापाको कन्काई नदीले बर्षेनी दर्जनौं घरपरिवारको उठीबास लगाउँदै आएको छ । बर्खा लाग्नसाथ कन्काई नदीको तटीय क्षेत्रका गाउँ, बस्तीका बासिन्दाहरुको मन कालो बादलसँगै मडारिने गर्छ ।
बर्षेनी बर्खामा नदीले निरन्तर धार परिवर्तन गरि गाउँ पस्न थालेपछि कन्काई–४ त्रिवेणी बस्तीका स्थानीय नदी नियन्त्रणका लागि आफैले पहल थालेका छन् ।
झापाको कन्काई–४ स्थित त्रिवेणी बस्तीकी ७१ बर्षीय रणमाया गजुरेल कन्काई नदी किनारको तातो घाममा पनि गहुंगो ढुंगा बोक्न व्यस्त हुनुहुन्छ । कन्काई पुलदेखी दक्षिणतर्फ पर्ने त्रिवेणी बस्तीमा भएको आफ्नो घरतिर कन्काई नदी नजिकिन थालेयता उहाको मनमा शान्ति छैन ।
गजुरेल मात्रै नभई उहाँजस्तै अरु स्थानीय पनि नदीको कटानले असाध्यै दुःख दिएपछि नियन्त्रणका लागि एकजुट भएका छन् । गाउँका महिला, बालबालिका देखि पाका उमेरका मानिसहरु समेत नदीको कटान रोक्न भन्दै स्पर निर्माणमा लागेका हुन् ।
पाँच सय बढी घर परिवार रहेको सो क्षेत्रमा हाल सम्म कन्काई नदीको बाढीले कपिपय स्थानीयलाई विस्थापित गर्नुका साथै खेतीयोग्य जमिन समेत कटान गरिसकेको छ । सरकारी निकायले नदी नियन्त्रणका लागि क्षणिक पहल गरेपनि दीर्घकालिन रुपमा नदी नियन्त्रण गर्न ठोस पहल नगरेको भन्दै स्थानीय आफ्नो घर र खेती योग्य जमिन बचाउन जुटेको कन्काई नगरपालिकाका अगुवा तथा समाजसेवीहरु बताउँछन् ।
वर्षेनी उर्लेर आउने कन्काई नदी विगत देखि नै वर्षेनी मानव वस्ती भएको पूर्वतिर आउन थालेको छ । त्यसैले त्यस क्षेत्रका बासिन्दाहरु सरकारी निकायको ठोस पहल नहुँदा कन्काईको कहरले नराम्ररी कोतरिरहेको छ ।

LIVE TV