१५ चैत्र २०७३, मंगलवार
  • कृष्ण पाण्डे,

रुपन्देही । सरकारले गरीब तथा असहायको गम्भीर प्रकृतिको उपचार खर्च ब्यहोर्ने र निशुल्क उपचार गर्ने घोषणा गरेको छ । तर आम सर्वसाधारणले आवश्यक खर्च नहुँदा उपचारै नहुने र उपचार भए पनि खर्च ब्यहोर्न नसक्दा अस्पतालमै बस्नु पर्ने बाध्यता छ । जाजरकोट पजारुकी कल्पना रोकामाथि अहिले यस्तै पीडा पोखिएको छ ।

उनको उपचारमा लागेको खर्च अस्पताललाई दिन नसक्दा अहिले उनी बुटवलको चौराह अस्पतालको शैयामा टोलाइरहेकी छिन् ।

भिरबाट लडेर गम्भीर घाईते बनेकी जाजरकोट पजारूकी कल्पना रोका उपचार खर्च बुझाउन नसक्दा उपचारपछि पनि अस्पतालमै बस्न बाध्य भएकी हुन् ।
१ महिना अघि घाँस दाउरामा जाँदा भिरबाट लडेर गम्भीर घाईते बनेकी २७ वर्षीया कल्पनाको अहिले उपचार पूरा भए पनि बुटवलको चौराह अस्पताललाई दिनुपर्ने २ लाख भन्दा बढी पैसा दिन नसक्दा अस्पतालको महिला वार्डमा बस्न बाध्य भएकी छिन् ।

अस्पतालमा उपचारमा लागेको खर्च उनले अझै बुझाउन नसकेको र अस्पतालले पनि निकै सहयोग गरिरहेको अस्पतालका चिकित्सक डा.केआई सिहँ केसीको भनाई छ ।

कल्पनाको उपचारका लागि ५० हजार लिएर आएको राजेन्द्र रोका कल्पनाका स्याहार सुसार गर्नुपर्ने भएपछि खर्च जुटाउन नसकेर गाँउमा भएको भेडा बेचेर पैसा लिएर आउँदै गरेका उनको कान्छा काकाको पनि जाजरकोटमा भएको बस दुर्घटना परेर मृत्यु भएपछि राजेन्द्र विक्षिप्त अवस्थामा छन् । एकतिर श्रीमतीको उपचार खर्च तिर्न सकेका छैनन भने अर्कोतिर काकाको मृत्युले उनको खुसी लुटिएको छ ।
यही अवस्था बुझेर बुटबलका स्थानीय युवाहरुको दाह्री ग्याङ नामक समुहले कल्पनाको सहयोगको लागि अभियान नै चलाएको छ ।

कल्पनाको लागि रु १० भन्दै सहयोगको आह्वान गरेको हो । कल्पनाको सहयोगको लागि आईतवार साँझ सांगीतिक कार्यक्रम मार्फत पनि रकम संकलन गरिएको थियो । चार दिनदेखि शुरु गरिएको १० रूपैया अभियानबाट १ लाख १० हजार रकम संकलन भएको समूहका संयोजक सुरज क्षेत्रीले जानकारी दिए ।
कल्पनालाई खर्च जुटाउने अभियानमा स्थानीय कलाकारहरुले समेत साथ दिएका छन् । समूहले अस्पतालमा बुझाउनुपर्ने रकम अझै अपुग भएकोले आर्थिक सहयोगको लागि दाताहरुलाई आग्रह गर्नुको साथै अस्पताललाई पनि केहि रकम छुट गर्न माग गरेको छ ।
आर्थिक अभावबीच अस्पतालमा उपचार भए पनि डिस्चार्ज हुन नसकेकी कल्पना यतिखेर सरकारले घोषणा गरेको उपचार खर्च बारे विश्वास गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

 

LIVE TV