१५ चैत्र २०७३, मंगलवार

काठमाडौं । विश्वभरी रंगमञ्च दिवस मनाउने क्रममा नेपालमा पनि रंगकर्मी र रंगप्रेमीबीच सोमबार यस दिवस मनाइएको छ । काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलमा थिएटर आकारको साथमा नाटक मञ्चनसहित शुभकामना आदाप्रदान गरेर नेपालमा विश्व रंगमञ्च दिवस मनाइएको हो ।


परफमिङ आर्टको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेशनल थिएटर इन्सिटिच्युट (आइटिआई) ले संयुक्त राष्ट्र संघको युनेस्कोस“ग मिलेर ५५ वर्ष अघिदेखि यो दिवस मनाइरहेको छ । यस वर्ष फ्रान्सको पेरिसमा केन्द्रीय दिवस समारोह मनाइएको थियो । नेपालमा पनि आइटिआइ नेपाल च्याप्टरका संस्थापक मध्ये एक प्रा. डा. अभि सुवेदीको उपस्थितिमा २७ मार्चः विश्व रंगमञ्च दिवस मनाइएको हो ।
कार्यक्रममा डा. सुवेदीले आइटीआइले रंगमञ्च दिवसको अवसरमा विश्वव्यापी रुपमा जारी गरेको सन्देश वाचन गरेर सुनाएका थिए । उनले नेपालमा आइटिआइ स्थापना गर्दाका क्षणहरु सम्झदै फेरि सक्रिय हुनुपर्नेमा जोड दिए ।
यस वर्ष फ्रान्सकी रंगकर्मी तथा सिनेकर्मी इजाबेल हपर्टले विश्वव्यापी सन्देश दिएका हुन् । उनले सो सन्देशबाट रंगमञ्चका लागि ठाउ“ बनाउन सबैलाई आग्रह गर्दै आफ्नो जीवनका अन्तिम शब्दहरु यही रहेको उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘रंगमञ्चलाई नै थाहा छ कि जनसमुदाय बिनाको रंगमञ्च हु“दैन, यो कुरा कहिल्यै पनि नबिर्सौ । एकै जना मात्र भए पनि ऊ दर्शक हो । तर पनि यत्तिचाहीँ आशा गरौं धेरै सिटहरु खाली नरहुन् ।’
विश्वव्यापी सन्देशका नेपाली अनुवादक मेघराज अधिकारीले आइटिआई र आइटिआइको अभियानबारे औंल्याएका थिए । उनले आइटिआइले रंगमञ्चको उत्थान र विकासमा लागि कार्य गरिरहेको र रंगमञ्चप्रति जनसमुदायलाई उत्प्रेरित गरिरहेको बताए ।
त्यस्तै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले विश्व रंगमञ्च दिवसको शुभकामना दि“दै अघिल्लो पुस्ताले आइटिआइमार्फत विधि रंगमञ्चीय गतिविधि गरेको सम्झे । उनले नयाँ पुस्ताका रगकर्मीका लागि पनि आइटिआइ जरुरी रहेको बताउँदै नेपालमा फेरि आइटिआईको सक्रियता बढ्नुपर्नेमा जोड दिए ।
विश्व रंगमञ्च दिवस मनाउने क्रममा डा. सुवेदीले नै लेखेका, घनश्याम श्रेष्ठ निर्देशित तथा शुस्मा कोइरालाको एकल अभिनय रहेको नाटक ‘यो कुनै वास हो एक’को अंश मञ्चन गरिएको थियो । सो नाटक गत जेठमा थिएटर मलमा नियमित मञ्चन भएको नाटक हो ।
गत मार्च २० मा थिएटर मलले थिएटरमा सेन्टर फर चिल्ड्रेन नेपाल र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आसितेज इन्टरनेशलले विश्व बाल रंगमञ्च दिवस पनि मनाएको थियो ।

तस्वीर : प्रसुन सिन्धुलीय

LIVE TV