१५ चैत्र २०७३, मंगलवार

धनगढी । स्थानीय तहमा खटिएका कार्यकारी अधिकृतका लागि ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण आज यहाँ सुरु भएको छ ।

राज्य पुनःसंरचनामा भएको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न कार्यकारी अधिकृतको गहन र महत्वपूर्ण जिम्मेवारी रहेकोले उनीहरुका लागि उक्त बिषयमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

तीन दिने सो कार्यक्रममा सात नम्बर प्रदेशअन्तर्गतका सवै नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृत तथा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सहभागी छन् ।

सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले नयाँ संरचना गर्दा कायम भएका देशभरका सबै ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत खटाइसकिएको जानकारी दिए ।

देशका सातवटै प्रदेशमा भएका अभिमुखीकरणको प्रत्यक्ष प्रसारण :

देशको सातवटै प्रदेशका १५ ठाउँमा भएका अभिमुखीकरण गोष्ठीको मन्त्रालयको पहलमा सूचना प्रविधिको प्रयोगमार्फत् प्रत्यक्ष प्रशारण गरी एक साथ सुरु गरिएको छ ।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले सबै ठाउँमा अभिमुखीकरण सुरु हुँदा एउटा ठाउँको स्किाइको सुविधा प्रयोग गरी सातवटै प्रदेशको १५ ठाउँमा सुन्ने र हेर्ने व्यवस्था गरिएको बताए ।

कार्यक्रमको प्रत्यक्ष प्रशारणमा– ३ नम्बर प्रदेशको नगरकोटमा सुरु भएको अभिमुखीकरण गोष्ठीको उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुभारम्भ गरेको दृष्य देखाइएको थियो ।

मन्त्रालयले देशभरी एकैसाथ सुरु भएको अभिमुखीकरणको प्रत्यक्ष प्रशारण गरेर उच्च प्रविधिको प्रयोगको यात्रामा पहिलो पाइला चालेको सहसचिव पाण्डेले राससलाई बताए ।

LIVE TV