१४ चैत्र २०७३, सोमबार

काठमाडौ. । विश्वकप २०१८ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा विश्व विजेता जर्मनी विजयी भएको छ ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको विश्वकपको साबिक विजेता जर्मनीले अजरबैजानलाई ४–१ ले हराएको हो ।

अबे मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन आन्द्रे शुर्लले दुई तथा थोमस मुलर र मारियो गोमेजले एक एक गोल गरे । अजरबैजानका लागि दिमित्री नाजारोभले एक गोल फर्काएका थिए ।

१९ औं मिनेटमा शुर्लले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए । ३१ औं मिनेटमा नाजारोभले अजरबैजानका लागि बराबरी गोल फर्काए । त्यसको पाँच मिनेटपछि मुलरले गोल गर्दै जर्मनीलाई २–१ को अग्रता दिलाए ।

४५ औं मिनेटमा गोमेजले गोल गरेपछि पहिलो हाफमा जर्मनीले ३–१ को अग्रता लियो । ८१ औं मिनेटमा शुर्लले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–१ को जित दिलाए । समूह ‘सी’ अन्तर्गतकै खेलमा नर्दन आयरल्याण्डले नर्वेलाई २–० ले हरायो ।

आयरल्याण्डका लागि जेमी वार्ड र कोनर वासिङटनले गोल गरे । जितपछि समूहको शीर्ष स्थानमा रहेको जर्मनीको पाँच खेलबाट १५ तथा दोस्रो स्थानका आयरल्याण्डको १० अंक छ । सान मारिनोलाई ६–० ले हराएको चेक गणतन्त्र ८ अंकसहित तेस्रो स्थानमा छ ।

LIVE TV