१४ चैत्र २०७३, सोमबार

काठमाडौं । रुसका मूख्य विपक्षी नेता एलेक्से नाभाल्नी पक्राउ परेका छन् । भ्रष्टाचार विरुद्ध भइरहेको प्रदर्शनको क्रममा प्रहरीले विपक्षी नेता नाभाल्नी पक्राउ गरेको हो ।

प्रत्यक्षदर्शीका अनुसार उनी राजधानी मस्कोमा भइरहेको प्रदर्शनमा सहभागी थिए । नाभाल्नीले रुसमा भ्रष्टाचार विरुद्ध अभियान चलाउँदै आएका छन् ।

मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । सत्तामा रहेका व्यक्ति भ्रष्टाचारमा संलग्न भएको भन्दै नेता नाभाल्नीले अभियान चलाउँदै आएका थिए ।

प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् । आफू पक्राउ परे पनि भ्रष्टाचार विरोधी आन्दोलन गरिरहन उनले आफ्ना समर्थकलाई आग्रह गरेका छन् ।
विपक्षी नेता नाभाल्नीले आफू पक्राउ पर्नुमा राजनीतिक पूर्वाग्रह रहेको बताएका छन् । प्रहरीले अन्य पाँच सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

तर, अधिकारकर्मीले भने सात सय जना पक्राउ परेका बताएका छन् । सन् २०११–१२ मा भएको सरकार विरोधी आन्दोलनपछि मस्कोमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।

LIVE TV