१४ चैत्र २०७३, सोमबार

काठमाडौं । स्थानीय चुनावको घोषणासँगै नुवाकोटको तारकेश्वर गाउँपालिकामा स्थानीय राजनीतिक दलका नेता कार्यकर्ताहरु भेटघाट र छलफलमा व्यस्त हुन थालेका छन् । वैशाख ३१ गते हुने भनिएको चुनावमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

साबिकका गाविसहरु गोस्र्याङ, बुधसिङ, तारुका, दाङसिङका साथै खड्कभञ्च्याङका १,२ र ३ वटा मिलेर बनेको तार्केश्वर गाउँपालिकाको प्रमुखमा कसले बाजी मार्ला भनि अहिले गाउँ, बस्ती, मेलापातदेखि चौतारी र चिया पसलसम्म चर्चा हुने गरेको छ ।

७२ दशमलव ६२ वर्गकिलोमिटर क्षेत्रफल रहेको तार्केश्वर गाउँपालिकाअन्तर्गत तारुकामा ५,२३३, बुधासिङमा २,९४५, गोस्र्याङमा ३,४३१, खड्कभञ्ज्याङ १,२ र ३ मा १,३७४, दानसिङ २,७३६ गरी जम्मा मतदाता संख्या १५,७१९ छन् ।

गाउँपालिकामा नेपाली कांग्रेसबाट तारुकाका समाजसेवी समेत रहेका शिव अधिकारी र बुधसिंका गोविन्द शर्माको नाम चर्चामा छ । यस्तै गोस्र्याङका अशोक तामाङले पनि गाउँपालिकाको प्रमुखमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै एमालेबाट भने तारुकाका सम्मर आलेमगर, दाङसिङका हरी अधिकारी र बुद्धसिङका रमेश वस्तीलगायतले प्रमुखमा दाबेदारी प्रस्तुत गरेको भएपनि गोस्र्याङकी उषाकिरण तिम्सेनाले प्रमुखमा बाजी मार्ने सम्भावना देखिएको छ । यस्तै माओवादी केन्द्रबाट गाउँपालिकामा हरी रिमाल, राजेन्द्र न्यौपानेलगायतको नाम चर्चामा छ ।

अहिलेसम्म चर्चामा रहेका उम्मेद्वारहरुमध्ये कांगे्रसको तर्फबाट शिव अधिकारी बलियो देखिएको छ । साविकको गाविसको आधारमा तारुकामा सबैभन्दा बढि मतदाता संख्या रहेको छ । त्यसको ७०÷८० प्रतिशत मत अधिकारीको पक्षमा देखिएको बताइन्छ ।

त्यो गाउँमा स्कुल, अस्पताल, खानेपानी, स्थानीय क्लब, मोटरबाटोलगायतको विकासको लागि गरेको योगदान सँगसँगै पछिल्लो समय स्थानीय आमा समूह, कृषि समूह, एकल महिला समूहलाई सशक्तिकरणका साथै अन्य गाउँहरुको शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि अभियान नै सञ्चालन गरिरहेको कारण उनको उम्मेद्वारी बलियो बन्दै गएको हो ।

LIVE TV