१४ चैत्र २०७३, सोमबार

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन् ।

निकटस्थका अनुसार दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश चिनियाँ नेतृत्वलाई दिनेछन् । उनले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनेछन् ।

दाहालले आइतबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटेका थिए । उनले आफ्नो पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए । उनीसहितको नेपाली प्रतिनिधिमण्डलले आइतबार बिहान त्यहाँस्थित ग्रेटवालको पनि अवलोकन गरेको थियो । प्रधानमन्त्री दाहाललाई स्टेट गेस्ट हाउसमा राखिएको छ ।

यसअघि बेइजिङ फरेन अफेयर्स युनिभर्सिटीमा आइतबार आयोजित नेपाल-चीन सम्बन्ध विकास तथा सम्भावनाु विषयक अन्तरक्रियामा दाहालले नेपालमा सरकार परिवर्तन भइरहे पनि नेपाल र चीनबीचको सम्बन्ध सदैव स्थिर रहेको बताएका थिए ।

आठ महिनाअघि सरकारको नेतृत्वमा आएपछि भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर चीनसँग दूरी बढाएको आरोप खेपेका दाहालले उत्तरी छिमेकीसँगको सम्बन्ध अटल रहँदै आएको बताए ।

नेपाल र चीनमा राजनीतिक परिवर्तन भए पनि सम्बन्धमा कुनै बदलाव नआएको उनको तर्क थियो । हाम्रो मुलुकमा राजनीतिक परिवर्तन भए पनि चीनसँगको हाम्रो सम्बन्ध स्थिर र अटल छ । नेपाल-चीन सम्बन्धको मौलिकता भनेकै यही हो,दाहालले भने ।

चिनियाँ विद्यार्थी, प्राज्ञिक वर्ग र बौद्धिक जमातको उपस्थिति रहेको कार्यक्रमका मुख्य वक्ता दाहालले नेपालमा जसको नेतृत्वमा सरकार बने पनि चीन सरकार र चिनियाँ जनतासँगको मित्रता बलियो र स्थिर रहेको बताए । यो नै हाम्रो चिरस्थायी सम्बन्धको विशेषता हो, उनले भने ।

साताव्यापी चीन भ्रमणमा रहेका दाहालले चीन नेपालको विकासमा विश्वसनीय र भरपर्दो साझेदार रहेको बताए । हाम्रो मित्रता आर्थिक तथा सामाजिक दायराभन्दा बाहिर छ, उनले भने, चीनले निरन्तर दिँदै आएको सहायता र पुनर्निर्माणमा गरेको उदार सहयोगले नेपाली जनताको मन जितेको छ ।

पञ्चशील सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै दाहालले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको साझा संवेदनशील मुद्दाको सम्मानबाट सम्बन्धलाई मार्गनिर्देश गरेको बताए । चीनले अघि बढाएकोुवान बेल्ट वान रोडु अवधारणामा साझेदार बन्न नेपालले चाँडै चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री दाहालले बताए ।

सत्ता परिवर्तनले चीनसँगको सम्बन्धमा असर परेको छनु सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको साझा संवेदनशील मुद्दाको सम्मानबाट नेपाल-चीन सम्बन्धलाई मार्गनिर्देश गरेको दाहालको दाबी ।
दुई वर्षअघि नेपालले उक्त अवधारणामा साझेदार बन्न चीनसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको र अब चाँडै विस्तारित समझदारीपत्रमा हस्ताक्षर हुने उनले बताए ।

चीनको वान रोड वान बेल्ट अवधारणाले हामीलाई सहकार्य र साझेदारीका असाधारण अवसर दिएको छ, उनले भने,म यो अवधारणाका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिन चाहान्छु । नेपाल प्राचीनकालमा सिल्क रुटको महत्वपूर्ण मार्ग रहेको स्मरण गराउँदै दाहालले नेपाल मध्यएसिया र दक्षिणएसिया जोड्ने पारवहन बिन्दुका रूपमा रहेको बताए ।

दाहालले नेपाल चीनले अघि बढाएको एसियाली पूर्वाधार विकास बैंकको संस्थापक सदस्य बनेको, नेपाल सांघाई कोअपरेसन अर्गनाइजेसनको डाइलग पार्टनर बनेको र पूर्ववर्ती सरकारका पालामा पारवहन सम्झौतामा चीनसँग हस्ताक्षर गरेको चर्चा गर्दै विगतका दिनमा भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

पारवहनले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा लैजाने बताउँदै उनले सम्झौताको प्रोटोकललाई चाँडै टुंग्याउनु नेपालको प्राथमिकता रहेको बताए । सडक, रेल, हवाई सम्पर्क र वेब लिंकका माध्यमबाट नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउनुपर्ने उनले बताए ।

दुई देशको ऐतिहासिक सम्बन्धमा महत्वपूर्ण मानिने तातोपानी नाका खुलाउनुपर्ने तथा अन्य नाका पनि बिस्तारै खोल्नुपर्ने उनले औंल्याए । नेपाल र चीनबीच साझा समृद्धिका लागि सुरुआत भइसकेको र अबको साझेदारीबाट नेपालको आर्थिक धरातल परिवर्तन हुनसक्ने उनले बताए । नेपालले हालै गरेको लगानी सम्मेलनमा ६० प्रतिशतभन्दा बढी प्रतिबद्धता चीनबाट व्यक्त भएको तथा नेपालमा आउने वैदेशिक लगानीमा चीन नै सबैभन्दा माथि रहेको उनले बताए ।

नेपाल र चीनबीच ऐतिहासिक रूपमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दाहालले भूगोल, सभ्यता, व्यापार र जनस्तरमा सम्बन्ध गाँसिएको बताए । चीनले आर्थिक क्षेत्रमा गरेको चामत्कारिक विकासको उनले प्रशंसा गरे । चिनियाँ नेतृत्वको दूरगामी सोचाइ र जनताको इमानदारीले चीनलाई विश्वको आर्थिक केन्द्रको स्रोत बताएको उनले बताए ।

अहिले विश्वमै चीनको उचाइ धेरै माथि उठिसकेको छु, उनले भने, विकासशील मुलुकका लागि चीन प्रेरणाको स्रोत बनेको छ । आर्थिक वृद्धिका लागि चीनको प्रगति उदाहरणीय छ ।

नेपालले एक चीन नीति अवलम्बन गरेको बताएका प्रधानमन्त्री दाहालले नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाए । दुई देशले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा विभिन्न मुद्दामा सहकार्य गर्दै आएको उनले बताए ।

नेपाल यतिबेला आर्थिक विकासको चरणमा रहेको र त्यसका लागि चीनको सहयोग महत्वपूर्ण रहने उनले बताए । दाहालले बेइजिङ फरेन अफेयर्स युनिभर्सिटी हातामा निर्मित नेपाल अध्ययन केन्द्रको पनि उद्घाटन गरे ।अन्नपूर्णपोष्ट बाट

LIVE TV