१३ चैत्र २०७३, आईतवार
  • यशोदा पौडेल,

नवलपरासी । नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय वैकल्पिक खेतीको रुपमा केरा खेतीतर्फ आकर्षित भएका छन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा लगेर दिँदापनि बर्षौंसम्म भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट पीडित किसानहरु उखुको विकल्पका रुपमा केरा खेतीमा लागेका हुन् ।

जलवायू परिवर्तनको जोखिम न्युनीकरण गरी कृषिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने उदेश्यले मेड नेपालले ल्याएको कृषि प्रवद्र्धन कार्यक्रम यस क्षेत्रका किसानहरुलाई फलदायी बनेको छ ।
करिब ३ बर्षअघि मेड नेपाल चितवनले केरा खेतीसम्बन्धि कार्यक्रम लागू गरेपश्चात उखु खेतीको पकेट क्षेत्र मानिने ग्रामीण क्षेत्रमा समेत किसानहरु उखुको विकल्पमा केरा खेतीतर्फ अग्रसर देखिएका हुन् ।
संस्थाले किसानहरुलाई निशुल्क रुपमा आवश्यक केरा, बिभिन्न तरकारी खेतीका बिउ बिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयको करिब पाँच लाख र मेड नेपालको करिब चार लाख गरी कुल नौ लाखको लागतमा कुडिया बजारमा नारायणी तरकारी फलफुल संकलन केन्द्रको पनि निर्माण गरिएको छ । जसका कारण ग्रामीण क्षेत्रका किसानहरु थप उत्साही भएको स्थानीय किसानहरु बताउँछन् ।
यसरी उखुखेती छाडेर केरा तथा तरकारी खेतीतर्फ आकर्षित भएका किसानहरुलाई सरकारी क्षेत्रबाट पनि सहयोग हुने गरेको छ । किसानहरुलाई उन्नत जातका बिउबिजन, प्राविधिक र कृषि मेसीन, औजार तथा यान्त्रिक उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नवलपरासीमा कुल ७ सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने गरिन्छ । जिल्लामा बार्षिक ८ हजार ८ सय २० मेट्रिक टन केरा उत्पादन हुदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

LIVE TV