१३ चैत्र २०७३, आईतवार

 

बुटवल । निर्वाचन आयुक्त सुधीरकुमार साहले सरकारले तोकेको मितिमा निर्वाचन गराउन निर्वाचन आयोग पूर्ण तयारीका साथ लागेको बताउनुभएको छ ।

उहाँले निर्वाचन सम्पन्न गर्नका लागि चाहिने समयभन्दा निकै कम समयभित्र निर्वाचन गराउने गरी सरकारले तोकेको मितिमा पनि आयोग निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन तयारीका क्रममा आयोगले बुटवलमा आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण तालिमका लागि बुटवल आउनुभएका आयुक्त साहले आज बुटवलमा पत्रकारसँग कुरा गर्दै निश्चित समयमा निर्वाचन गराउने गरी आयोगले सबै तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले २० वर्षपछि हुन लागेको यो चुनावमा सबैतिर उत्साह बढेको बताउँदै वैशाख ३१ गते एकै चरणमा निर्वाचन हुने पनि बताउनुभयो । उहाँले तयारीका लागि ८३ दिनमात्रै प्राप्त भए पनि निर्वाचन आयोगले सबै कामसक्ने बताउनुभयो ।

उहाँले निर्वाचनको तयारीका क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने करिब २५ हजार आवश्यक मतपेटिका खरिदको प्रक्रिया अघि बढाएको, स्तरीय मतदाता परिचयपत्र छाप्ने काम भइरहेको, क्षेत्रगतरुपमा मतदाता शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको, १२ जिल्लाका मतपत्र छपाइको काम सकिएको जानकारी पनि दिनुभयो ।

आयुक्त साहले नागरिकलाई सुरक्षित, निर्भिकरुपमा मतदान गर्न वातावरण बनाउन र केन्द्रसम्म धेरै मतदातालाई उपस्थित गराउन आयोगले काम गरिरहेको बताउनुभयो ।

उहाँले पहिलेका निर्वाचनमा भन्दा अहिले मतदानको बदर सङ्ख्या घटाउने र सदर बढाउने उद्देश्यअनुरुप निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा चलाउनेसमेत जानकारी दिनुभयो ।

यस कार्यमा नमुना मतपत्रसमेत बोकेर स्वयम्सेवक मतदाताको घरघरमा पुग्ने उहाँले बताउनुभयो । निर्वाचन आयुक्त साहले स्थानीय चुनावमा उम्मेदवारको सङ्ख्या नै तीनलाख ६० हजारको हाराहारीमा पुग्ने भएकाले सचेतनाको काम पूर्णरुपमा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एउटा पदमा १० जनाले उम्मेदवारी दिए भने पनि तीनलाख ३० हजार उम्मेदवार हुनेछन्, उम्मेदवार, कार्यकर्ता प्रत्येक घरघरमा चुनाव प्रचारमा पुग्छन्, यसले निर्वाचनको रौनकता निकै बढाउनेछ ।” रासस

LIVE TV