१३ चैत्र २०७३, आईतवार

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एक सिंगे गैंडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिने भएको छ । यही चैत २१ गते एक भाले र चार वटा पोथी गरि पाँच वटा गैंडा शुक्लाफाटामा स्थानान्तरण गर्न लागिएको हो ।

चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । गैंडालाई शुक्लाफाँटा पु¥याउन प्राविधिक, सेनालगायतको एक सय जनाको टास्क फोर्स टिम बनाइएको छ ।
शुक्लाफाँटामा पनि गैंडाको राम्रो बासस्थान रहेको गैंडा लैजाने तयारी अन्तिम भइरहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
शुक्लाफाँटामा हाल ९ वटा गैंडा रहेको छ । यसअघि सन् २००० मा चितवनबाट ४ वटा गैंडा शुक्लाफाटामा छोडिएको थियो । अब फेरी चितवनबाट ५ वटा गैडाँ लगिएपछि शुक्लाफाटामा गैंडाको संख्या १४ वटा पुग्नेछ ।
सरकारले २०७१ साल कार्तिक २२ गते शुक्लाफाटामा ५ र बर्दिया राष्ट्रिय निकुञ्जमा ३० गरि ३५ वटा गैंडा चितवनबाट स्थानान्तरण गर्ने निर्णय गरेको थियो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले चितवनको गैंडाको शुक्लाफाटा लैजाने निर्णयमा आलोचनात्मक समर्थन मात्रै रहेको बताए ।
चितवनबाट दुर्लभ एक सिंगे गैंडा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिने र सोही स्थानबाट दुर्लभ मानिएको बाह्रसिंगे चितवन ल्याउने तयारी गरिएको छ । गैंडा लैजाने टिमले नै शुक्लाफाँटाबाट बाह्रसिंगे चितवन ल्याउने अन्तिम तयारी भईरहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए ।

 

LIVE TV