१३ चैत्र २०७३, आईतवार

ताप्लेजुङ । मेची अञ्चलमै पहिलो पटक विश्व शान्तिको लागि बज्र गुरु मन्त्र जप कार्यक्रमको तयारी तीब्र बनाईएको छ । ताप्लेजुङको सुकेटारमा आगामी चैत्र २७, २८ र २९ गते हुन गइरहेको तीन दिने बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी तीब्र बनाईएको हो ।

कार्यक्रम सुरु हुन केही साता बाँकी छँदा कार्यक्रम स्थलमा टहरा निर्माण लगायत सबै तयारीलाई तीब्र पारिएको छ । अहिले विश्वमा अशान्ति बढेर गएकाले विश्वका सम्पूर्ण प्राणी जगतको लागि शान्तिको कामना गर्दै यो कार्यक्रम गर्न लागिएको आयोजक समितिका सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिए ।
कार्यक्रममा विश्वका चर्चित औतारी लामागुरु दिल्गो खेन्से याङसी रिम्पोछे साथै अन्य सात जना औतारी लामागुरु, र दुई सय पचास जना लामागुरुहको उपस्थितिमा बज्रगुरु मन्त्र जप तथा पाठ कार्यक्रम गरिने छ ।
बज्रगुरु मन्त्र जप गर्नको लागि ताप्लेजुङ, पाचथर, संखुवासभा र काठमाडौं साथै छिमेकी राष्ट्र भारत, भूटान र तिब्बत लगायतका अन्य ठाउँहरुबाट समेत गरि पन्ध्रदेखि बीस हजार जनाको हाराहारीमा वौद्ध धर्मवालम्वीको सहभागिता रहने अनुमान गरिएको छ ।

 

LIVE TV