१३ चैत्र २०७३, आईतवार

मोरङ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते ल्याउन लागिएको बजेट मौलिक एवं भिन्न हुने र यथार्थपरक पनि आउने बताएका छन् । उनले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी बजेट नल्याउने पनि प्रष्ट पारे ।

आइतवार मोरङको विराटनगरमा आयोजना गरिएको आर्थिक वर्ष ०७४÷७५ को नयाँ बजेटमा समावेश गरिनु पर्ने राजस्व नीति तथा बजेट तर्जुमा बारे छलफल कार्यक्रममा अर्थमन्त्री महराले यस पटकको बजेटमा स्थानीय सरकारहरुलाई सबैभन्दा बढी बजेट विनियोजित हुने मात्र नभई जनताका प्रतिनिधिहरु आफैले छनौट गरेको विकास निर्माणमा खर्च गर्न सक्ने गरी बजेट आउन लागेको बताए । राजस्व र कर नीतिमा पूनरावलोकन गर्न लागिएको जानकारी दिदै उनले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी सरकारले बजेट नल्याउने विश्वास दिलाए ।
अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आयोजना गरेको सो पूर्व बजेट छलफल कार्यक्रममा सहभागी उद्योगी तथा व्यापारीहरुले बजेट राजस्वमुखी भन्दा पनि उद्योग मैत्री तथा यथार्थपरक आउनु पर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा राजस्व प्रशासनका उच्च अधिकारीहरु र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

LIVE TV