१२ चैत्र २०७३, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुगेका छन् ।

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी एवम् विद्यार्थीले बेइजिङ विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई बेइजिङस्थित दियाओयुताई स्टेट गेस्टहाउसमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलदेखि गेस्ट हाउससम्म पुग्ने सडकको एक खण्ड पूरै खाली गराएर प्रधानमन्त्रीको स्कर्टिङ गरिएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल आजै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ भने नेपाली समुदाय तथा दूतावासमा निम्त्याइएका नेपाली समुदाय तथा व्यापारी व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् उच्च नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै, सोमबार उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री आज विहान एशियाका लागि बोआओ मन्चको बार्षिक सम्मेलनमा सम्बोधन पश्चात चीनको बोआओ शहरबाट आजै बेइजिङ पुगेका हुन् ।

LIVE TV