१२ चैत्र २०७३, शनिबार

कञ्चनपुर । भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर शहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको परिवारलाई सहयोग जुट्ने क्रम बढ्दो छ । स्थानीय नेपाली सेनाका पूर्व सुवेदार दामोदरप्रसाद अधिकारीले कञ्चनपुरको डोकेबजार नजिकै रहेको करिब ८ लाख मूल्य पर्ने १२ धुर जग्गा शहीद पत्नी लक्ष्मी गौतमको नाममा शुक्रबार नामसारी गरिदिएका छन् ।

जग्गा दानसंगै अधिकारीले आफ्नो एक महिनाको पेन्सन वापत पाउने १५ हजार रुपैयाँ समेत दिनुभएको छ । अधिकारीले गरेको यो सहयोग नेपालका ठूला पार्टी भनिएका नेकपा एमाले र हाल सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले दिएको भन्दा धेरै हो ।
एमालेले पाँच लाख र माओवादी केन्द्रले ६ लाख नगद गौतमको परिवारलाई दिएका छन् । शहीद गौतमका तीन छोरीहरु संरक्षक रहने गरी जग्गा दान गरेको अधिकारीले बताए । शहीद गौतम परिवारको दुःख देखेर जग्गा दान गरेको बताउँदै सीमानामा सरकारले पर्खाल लगाउने हो भने आफुले पाउने सम्पुर्ण पेन्सन रकम सरकारलाई दिन आफु तयार रहेको अधिकारीले बताए ।
त्यस्तै अधिकारीले घाइते टीकाराम चापागाईको परिवारलाई भेटेर ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पुनर्वास नगरपालिका ८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन २६ गते ३० वर्षीय गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेर नगद १० लाख दिने निर्णय गरेको थियो ।

 

LIVE TV