१२ चैत्र २०७३, शनिबार

म्याग्दी । जिल्ला वन कार्यालय म्याग्दीमा भएको आर्थिक हिनामिना र अनुशासनहिन कर्मचारी सम्बन्धि समाचार न्युज २४ टेलिभिजनमा प्रसारण भए लगत्तै तत्सम्बन्धमा छानविन गर्न कार्यदल गठन गरिएको छ । समाचार प्रसारण भएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल कार्यालय पुगेर त्यहाँको अवस्थाबारे अनुगमन गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको संयोजकत्वमा कार्यदलले छानविन समेत थालेको छ । कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासेको सदस्य रहेको उक्त कार्यदलले एकहप्ता भित्र बन कार्यालय भित्र भएको हिनामिना कर्मचारीको गुनासो, कार्यालय प्रमुख सुखलाल प्रसाद जयसवालले कर्मचारीको रासन प्रक्रियामा गरेको अवरोध, सेवासुविधामा कर्मचारीको हालीमुहाली र अनुशासनहिन कर्मचारी लगायतका विषयमा केन्द्रित भएर अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी पौडेलले गरेको छड्के अनुगमनको क्रममा कार्यालय प्रमुख विना कारण कार्यालय बाहिर रहेको र केही कर्मचारी समेत कार्यालयमा उपस्थित नदेखेपछि हाजिर पुस्तिकामा गयल लेखिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेल कार्यालयमा पुगेपछि कर्मचारीले कार्यालय प्रमुखको कार्यसम्पादनका बारेमा समेत गुनासो गरेका थिए । कार्यालय प्रमुखको मनोमानी ,अनुशासनहिन कर्मचारी, सेवा प्रवाहामा ढिलासुस्ती लगायतका गुनासो दिनप्रति दिन बढ्न थालेको कार्यालयलाई नियमन गर्न समेत कर्मचारीले माग गरेका थिए ।
तालिमको बजेट समेत विना जानकारी निकाल्ने, बन उपभोक्ता समितिले प्राप्त गर्ने सुविधाहरु समेत दुरुपयोग गर्ने, बन रक्षकका सेवामा समेत प्रमुखको हालिमुहाली लगाएतका गुनासो समेत आएको छ । त्यस्तै कर्मचारीको रासन ठेक्का टेन्डर मुल्याङ्कन दुईमहिना वितिसक्दा समेत कार्यालय प्रमुखले त्यसलाई अवरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको छ ।

LIVE TV