१२ चैत्र २०७३, शनिबार

पोखरा । सुन्दर नगरी पोखरा नजिकै अवस्थित तनहुँको सदरमुकाम दमौलीमा रहेको व्यास क्षेत्र विशिष्ट धार्मिक एवम् पर्यटकीय स्थल बन्ने भएको छ ।

पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७ करोड रुपैयाँको लागतमा १०८ फिटको मूर्ति सहित विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ ।
चार वेदका सङ्ग्रहकर्ता, अठार पुराण उपपुराणका स्मृतिकार एवम् ब्रह्मसूत्र तथा उत्तर मिमांसा ९उपनिषद्०का  प्रणेता महर्षि वेदव्यासको जन्म तथा कर्म भूमि व्यास क्षेत्रको पूर्वाधार विकास एवम् प्रचारप्रसारकै अभावमा अपेक्षित विकास हुन नसकेका कारण व्यास क्षेत्र विकास कोषले यस स्थललाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने योजनालाई अघि बढाएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए ।
“पर्यटकीय रुपमा पोखराको विकासका काम अघि बढे पनि नजिकै रहेका व्यास क्षेत्र लगायतका स्थान अझै पनि विकासका दृष्टिले छायामा परेका छन्,” उनले भने,“ प्रदेश नं ४ भित्रका यस्ता महत्वपूर्ण स्थलको विकास सँगसँगै हुनु आवश्यक छ ।”
व्यास क्षेत्रलाई व्यास ग्रामका रुपमा विकास गर्ने कोषको लक्ष्य रहेको छ । उनले यस स्थलमा १०८ फिटको तामाको मूर्तिका साथै पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकुल आश्रम, धर्मशाला, व्यापारिक स्थलका साथै २७ अवतारका व्यास, श्री गणेश, सत्यवती, पराशर र दाशराज माझीहरूको मूर्ति निर्माण गरिने जानकारी दिए ।
पर्यटकीय नगरी पोखराबाट जम्मा ५० किलोमिटर दूरीमा रहेर पनि ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल व्यास क्षेत्र ओझेलमा परेको बताउने तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरि सिं गुरुङले यसको विकाससँगै वरपरका तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थल, शिखर कटेरी, ऋषिङ रानीपोखरी जस्ता स्थानमा पर्यटक पु¥याउन सकिए यसबाट मादी सेती जलविहार, पदयात्रा, गुफा अवलोकनका साथै यहाँको सांस्कृतिक जगेर्ना र घरबास ९होमस्टे०को विकास हुने बताए ।
धार्मिक पर्यटकीय रुपमा महत्वपूर्ण देवघाट, ढोरबाराही, छाब्दी बाराही, थानीकोट, गलेखाम कोटभैरवी, आँधीमूल, तीनखोले देवी, तनहुँकालिका, अकलादेवी लगायतका मठ मन्दिर पनि यहाँका थप आकर्षण हुन् ।
पर्यटकलाई लक्ष्य गरी यहाँका पर्यटकीय गाउँमा सञ्चालित १४ वटा घरबास९होम स्टे० कार्यक्रम पनि प्रभावकारी बन्ने गुरुङको भनाइ छ ।
तनहुँ जिल्लामा टुटेपानी, मिछुर्लुङ, हिलेखर्क, छिम्केश्वरी, धरम्पानी, नाबरुङ्ग, रानागाउँ, थप्रेक, रघु, छापथोक नमूना गाउँ, तनहुँसुर, दगाम÷भुजिकोट, पिपलथोक र रामकोट गाउँहरूमा होम स्टे कार्यक्रम सञ्चालित छन् ।
व्यास क्षेत्रको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, व्यास क्षेत्र विकास कोष एवम् सम्बद्ध निकायसँग सहकार्य गर्न तयार रहेको बोर्डको पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए ।
“यस क्षेत्रको विकासका लागि स्थानीय तहबाटै अग्रसरता देखाइनु आवश्यक छ,” उनले भने, “आवश्यक पूर्वाधार विकास एवम् प्रचारप्रसार हुन सकेमा पोखरा आउने पर्यटकलाई प्याकेजका रुपमा नै व्यास क्षेत्रको अवलोकन भ्रमण गराउन सकिन्छ ।”
व्यास क्षेत्रको विकासले यहाँको मात्र नभएर यस आसपासका कास्की, स्याङजा, बाग्लुङ लगायत यस प्रदेशको पर्यटकीय विकासमा पनि योगदान गर्ने तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।
यहाँका सम्भावनाको खोजी गर्दै तिनीहरूको प्रचारप्रसारका लागि त्यही अनुरुप पर्यटक पथ प्रदर्शकहरूलाई तालिम दिन आवश्यक रहेको उनको भनाइ छ ।
महर्षि वेदव्यास पुस्तकका लेखक एवम् अनुसन्धाता काशीनाथ न्यौपानेका अनुसार २८ औं व्यासावतार श्रीकृष्ण द्वैपायन दमौलीमा अवतरित हुनुभएको पुराण तथा ग्रन्थहरूमा उल्लेख छ ।
विभिन्न धर्मग्रन्थमा उल्लेख भए अनुसार सेती र मादी नदीको सङ्गमस्थल वयरघारी वनयुक्त द्वीपमा महर्षि पराशरको अंश र सत्यवतीको कोखबाट श्री कृष्णद्वैपायनको जन्म भएको र जन्मनासाथ आमाको अनुमतिले चीरकालसम्म तपस्या गरी तपस्वीका रुपमा रहेका उनले जानकरी दिए ।
व्यास क्षेत्रमा रहेका पराशर आश्रम, सत्यवतीको प्रशव वेदना झल्काउने शिला, सत्यवतीकी आमा मत्स्यगन्धा झल्काउने शिला, राजा उपरीचरले पालेको बाज पंक्षी झल्काउने शिला, कहिल्यै नसुक्ने सत्यवती कुण्ड, व्यास गुफा, मत्स्योदरी कुण्ड जस्ता धेरै ऐतिहासिक स्थलले पनि यहाँको धार्मिक महत्वलाई उजागर गर्ने न्यौपानेको भनाइ छ ।
व्यास क्षेत्रमा रहेको १०० रोपनी क्षेत्रफलको जग्गालाई समेटेर मूर्ति सहितका संरचना निर्माण गर्न लागिएको छ ।
वेदव्यासको तपोभूमि व्यास क्षेत्रलाई समेटेर यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने अभियानलाई व्यास नगरपालिका कार्यालयका तर्फबाट सक्दो सहयोग गर्ने नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद बास्तोलाले बताए ।
कोषका महासचिव विष्णुभक्त सिग्देलले व्यास क्षेत्रको समग्र विकासका लागि चालिएको अभियानलाई साकार पार्न सरकार, सरोकारवाला निकाय, नागरिक समाज सबैको सहकार्य हुने विश्वास व्यक्त गरे ।
“यस स्थलको विकास यहाँको मात्र नभएर समग्र प्रदेश नं ४ कै पर्यटकीय विकासमा उपयोगी बन्ने छ,” सिग्देलले भने ।

LIVE TV