११ चैत्र २०७३, शुक्रबार

बेल्जियम । युरोपियन युनियन (ईयू)ले युक्रेनी द्वन्द्वलाई अनुगमन गर्न युक्रेनलाई दिइराखेको ‘सेटलाइट’ दृश्यावलोकन सहयोगलाई बढाउने निर्णय गरेको छ ।

ईयूका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युक्रेनको द्वन्द्वलाई राम्रोसँग निगरानी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो सेटलाइट दृश्य सेवालाई् थप गर्ने निर्णय गरेको जानकारी गराउनुभएको छ । ईयूले द्वन्द्वग्रस्त क्षेत्रमा अनुगमन प्रक्रियालाई अझै पनि समस्या भएको जनाउँदै आफ्नो सेटलाइट दृश्य सेवालाई थप गरेको मोघेरिनीको भनाइ छ ।

यस सेवाबाट अनुगमनकर्ता पुग्न नसकेका युक्रेनी भूभागका दृश्य प्राप्त गर्न सकिन्छ र यस वापत युरोपको सुरक्षा सहयोग निकाय (ओएससीई) ले ३२ लाख अमेरिकी डलर बराबरको सहयोग युक्रेनलाई उपलब्ध गराएको छ ।

युक्रेनमा सरकारी सेना र रसिया पक्ष्धर विद्रोहीबीच सन् २०१४ मा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म नौ हजार ८०० युक्रेनीको मृत्यु भएको छ ।

सन् २०१५ मा भएको शान्ति सम्झौतापछि द्वन्द्वमा कमी आए पनि अझै यदाकदा सरकारी सेना र विद्रोहीबीच झडपका घटना हुने गरेका छन् ।

LIVE TV