११ चैत्र २०७३, शुक्रबार
  • ज्योति पन्थी

बर्दिया । सरकार र दलका नेताहरुले आर्थिक विकास र उन्नतीलाई प्राथमिकतामा राखेको चर्चा गर्नु अहिले सामान्य जस्तै बनेको छ । तर, मुलुकमा विकासे आयोजनाहरु अलपत्र परेकोेतर्फ भने कमैको ध्यान जाने गरेको छ ।

विकास निर्माणका आयोजनाहरुका लागि राजनीतिक दल र तिनका स्थानीय प्रतिनिधिहरुको चित्त बुझाउनु पर्दा विनियोगजन गरिएको रकम एकातिर फ्रिज हुने खतरा देखिन्छ भने अर्कातर्फ समयमै निर्माण सुरु नहुने र भैहालेपनि त्यसको गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको पाइन्छ ।

बर्दियामा लामो प्रतिक्षापछि बल्ल बल्ल बनेको एउटा पुलले पनि यही नियति भोगेको छ । बिभिन्न असहमति र विवादका कारण निर्माण सम्पन्न भएको तीन वर्ष वितिसक्दा पनि बर्दिया जिल्लाको पश्चिमी क्षेत्र र कर्णालीको पूर्वी क्षेत्रलाई जोड्ने कर्णाली नदिको पुल अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन ।

करोडौं रुपैंयाको लगानीमा बनाइएको पुल हस्तान्तरण नहुँदै नदीले बगाउने खतरा समेत बढेको छ । १३ वटा पिलरमा निर्माण गरिएको पुल बिनापुर्वाधार निर्माण गरिएपछि अहिले पुल पनि संकटमा परेको स्थानीयको भनाई छ ।

यातायात साधन सञ्चालन गर्ने उद्धेश्यका साथ निर्माण गरिएको पुल मापदण्ड नै नपुगी निर्माण गरिएकाले बगाउने खतरा बढेको उनीहरु बताउँछन् । पुल बगाउने खतरा देखिएका कारण अहिले जिल्लास्थित सरोकारवाला निकायहरु चिन्तित बनेका छन् ।

बाँकेमा रहेको हुलाकी राजमार्ग आयोजनाले पुल निर्माणमा साबधानी नअपनाएका कारण पुलको पूर्वी भाग बगाउने खतरा बढेको छ । पुल बगाउने खतरा बढेपनि मर्मतका लागि रकम अभाव भएको जिल्ला समन्वय समितिको भनाई छ ।

राजापुर बजारदेखि पश्चिम हुँदै धनगढीको पर्यटकीय क्षेत्र टिकापुर जोडने पुल निर्माणका समयमा ठेकेदारले पुलको मध्य भागमा जथाभावी ग्रावेल डम्प गरेका कारण पुलको पानि पूर्वी भेगतर्फ आएको हो । अहिले बर्दियातर्फ नदीले कटान गरे अवको बर्षातको समयमा पुल बगाउने प्रष्ट देखिएको प्रशासनले समेत बताएको छ ।

राज्यको लगानीमा निर्माण भएका यस्ता संरचनाले समुदायलाई सेवा भन्दा पनि भय र सास्ती दिन थालेको छ । तर, यति हुँदासमेत यसतर्फसरोकारवाला निकायहरु गम्भीर देखिएका छैनन् ।

LIVE TV