११ चैत्र २०७३, शुक्रबार

लमजुङ । जलविद्युतको भण्डारको रुपमा लिइने लमजुङमा एकपछि अर्को गर्दै जलविद्युत आयोजनाहरुको निर्माण कार्यले तीव्रता पाएको छ । जिल्लामा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दीको निर्माण कार्य सकिए लगत्तै ङादी खोलामा पनि ३० मेगावाट क्षमताको अर्को जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ ।

प्रवद्र्धक कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडले एक कार्यक्रमको आयोजना गरी आयोजना निर्माणको शिलन्यास गरेको हो । लामो पर्खाइपछि नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी न्यादी हाइड्रोपावर लिमिटेडबीच २०७२ जेठ १२ गते विद्युत खरिद बिक्री सम्झौता भएपछि प्रवद्र्धक कम्पनीलाई आयोजना निर्माणको लागि बाटो खुलेको हो ।
जडित क्षमता ३० मेगावाट रहेको ङादी जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । बाहुनडाँडाको नाइचे नजिकै बाँध बाँधी भूमिगत थिग्य्राउने पोखरी हुँदै ४ किलोमिटर सुरुङबाट पानी ल्याई मस्र्याङ्दी गाउँपालिकाको वडा नं ६ डिहीमा निर्माण गरीने विद्युत गृहबाट तोकिएको विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ ।
उता आयोजना निर्माण शुरु गर्नुपुर्व विकास पूर्वाधारका काममा बीपीसीले करिब २५ करोड खर्च गरीसकेको छ । आयोजनाले मस्र्याङ्दी नदिमा बेलिब्रिज, आठ किलोमीटर सडक निर्माण तथा आवश्यक जग्गा खरिद, लगाएतका काम गरीसकेको छ ।
आयोजनाबाट विद्युत उत्पादन भए पश्चात आयोजनाको विद्युत गृह रहने स्थान डिहीबाट ६ किलोमिटर लामो १३२ केभि प्रसारण लाइनको निर्माण गरि उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणको खुदी हबमा जोडिनेछ ।
२०७६ चैत मसान्तभित्रै निर्माण कार्य सम्पन्न हुने आयोजनाबाट बार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
पानीको बहावमा आधारित यो आयोजनाको अनुमानित लागत करिब ६ अर्ब रहेको छ । आयोजना निर्माणका लागि ङादी जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापनको कार्य पूरा भइसकेको छ भने आयोजना निर्माण गर्नको लागि ६ बैंकले साँढे ४ अर्ब ४० करोड लगानी गर्ने सहमति भएको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्रवद्र्धक कम्पनी न्यादीले १० प्रतिशत अर्थात १५ करोड र सर्बसाधारणका लागि १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको शेयर निष्काशन गर्ने बताइएको छ ।

 

LIVE TV