१० चैत्र २०७३, बिहीबार
  • हरिकृष्ण गौतम,

म्याग्दी । दिनभर मदिरामा मस्त रहने हाकिमबाट कर्मचारी र सेवाग्राहीले के र कस्तो आश गर्ने ? यस्तै अवस्थामा पुगेको म्याग्दीको जिल्ला वन कार्यालय । सेवाग्राहीहरु सेवा नपाउने अवस्थामा पुगेका छन् भने ढिलासुस्ती त कार्यालयको परिचय नै बनेको छ । कार्यालय प्रमुख अधिकांश समय जिल्ला वाहिर रहने तर निमित्त प्रमुखको जिम्मेवारी पाएका सहायक अधिकृत दिनभर मदिरामा मस्त रहने । यही दुई कारणले पनि अन्य कर्मचारीको मनोमानीले भने सीमा नाघ्न थालेको छ ।

बुधबार मदिराको नशामा कार्यालयमा प्रवेश गरेका सहायक बन अधिकृत हिमलाल लामिछानेले मदिरामा लठ्ठीएर दिनभर कर्मचारीलाई तनाव दिएपछि कार्यालयका अन्य कर्मचारीले समेत काम गर्न वातावरण नभएको गुनासो गरेका छन् ।
गत माघ १७ गते सरुवा भएर जिल्लामा आएका लामिछानेले दैनिकजसो मदिरा सेवा गरेर कार्यालयमा आउन थालेपछि सेवाग्राही समेत समस्यामा परेका छन् । मदिरा सेवन गरेर जथाभावी बोल्न थालेपछि सेवाग्राहीले सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
मदिरामा मस्त लामिछानेले कर्मचारीले आफुँलाई केही गर्न नसक्ने भन्दै केही दिनमा आँफु अमेरिका उडन लागेको कथा सगर्व सुनाउछन् । लामिछानेको यो हर्कतले तल्लो तहका कर्मचारीको सेवासुविधा दुरुपयोग भएको छ । मदिरामा मस्त रहने गरेका लामिछानेले मदिरा सेवन गर्दा कार्यालयका कर्मचारीको नाममा पेस्की निकालेर प्रयोग गर्ने आरोप स्वयम कर्मचारीहरुले लगाएका छन् । निमित्त प्रमुख लामिछाने भने आफुँले नभई अन्य कर्मचारीले नै सेवाग्राही र करार एवं ज्यालामा रहेका कर्मचारीलाई दुःख दिने काम गरेको जिकिर गर्छन ।
जिल्ला देखी वडास्तरसम्मका कर्मचारी, सामुदायिक बन उपभोक्ता, काठ ब्यवसायी सहित विभिन्न कामले कार्यालयमा जाने सेवाग्राहीलाई अनावश्यक दुख दिने, सेवामा ढिलासुस्ती गर्ने गरेको गुनासो दिनप्रति दिन बढ्न थालेको छ । कर्मचारीको रासन ठेक्का टेन्डर मुल्याङ्कन दुईमहिना वितिसक्दा समेत कार्यालय प्रमुखले त्यसलाई अवरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको छ । रासन सुविधामा प्रमुखले मनोमानी गरेको भन्दै कर्मचारीबाटै जिल्ला प्रशासनमा निवेदन दिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्वीकार्नुभयो ।
पदीय मर्यादा विपरित आचरण देखाउने कर्मचारीलाई सम्बन्धित कार्यालय मार्फत स्पष्टीकरण सोधिने पनि उहाँको भनाई छ । बन कार्यालयको जिल्ला देखि वडास्तरसम्म सञ्चालन भइरहेका कार्यक्रमका बारेमा समेत गुनासो बढ्न थालेपनि कुनै कारवाही र छानविन हुन सकेको छैन ।

 

LIVE TV