१० चैत्र २०७३, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहमति प्रयासका लागि भन्दै विहीवार दिनभर व्यस्त रहेपनि दलहरुसंगको छलफल निष्कर्षविहीन भएको छ । सीमांकन थाती राखेर संविधान संशोधन विद्येयक पारित गर्ने दाहालको प्रस्तावमा सहमति जुट्न नसकेको हो ।

दाहालले विहीवार बिभिन्न चरणमा मधेसी मोर्चाका नेताहरु र एमालेका नेताहरुसंग पनि छलफल गरेका हुन् । मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल गरेका थिए ।
प्रधानमन्त्रीसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरु पनि आन्तरिक बैठकमा जुटेका थिए । दिल्लीबाट विहीवार नै फर्किएका मधेसी गठबन्धनका नेता उपेन्द्र यादव र नेता राजेन्द्र महतोले विहीबार अपरान्ह सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।
यादव र महतो प्रधानमन्त्रीसँगको छलफल सकेर बाहिरिनासाथ प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष बामदेव गौतमसँग छलफल गरेका थिए । सीमांकन थाती राखेर संविधान संशोधन विद्येयक पारित गराउने विषयमा मोर्चाका नेताहरु सकारात्मक भएपनि एमालेले नमानेपछि विहीवार पनि प्रधानमन्त्रीको प्रयास असफलद भएको हो ।

LIVE TV