१० चैत्र २०७३, बिहीबार

 

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले सीमा प्रशासन कार्यालय स्थापना गरी सेवा दिन थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।

जिल्लाको सुदूरउत्तर दुर्गम च्याङ्थापु र फलैंचा गाउँपालिकामा सीमा प्रशासन कार्यालयबाट सेवा दिन थालिएपछि त्यहाँका नागरिकमा हर्ष छाएको छ ।

द्वन्द्वकालमा बन्द रहेको उक्त कार्यालय १८ वर्षपछि सुरु भएको हो । सेवा सुरु भएसँगै नागरिकता, जन्म तथा मृत्यु दर्ता र अन्य सिफारिसका कार्यमा सहयोग पुगेको छ । ती काम सदरमुकाम पुगेर गर्दा दुई दिनको समय र पाँच हजार रुपैयाँ खर्च लाग्ने तर अब त्यसो नहुने स्थानीयवासी श्याम बेघाको भनाइ छ ।

आर्थिक तथा भौगोलिक कठिनाइको कारण त्यस क्षेत्रका नागरिक सदरमुकाम आइपुग्न सक्दैनन् । त्यहाँका नागरिकलाई थप सेवा, सुविधा तथा सुरक्षा दिन सशस्त्र प्रहरी बल र बैङ्कसमेत राख्नुपर्ने माग रहेको स्थानीयवासी दिल्ली दाहालले बताउनुभएको छ ।

प्रशासन, सुरक्षा र गाविस कर्मचारी पर्याप्त नहँुदा सेवा प्रभावकारी हुन सकेको छैन । .ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको गाविसका नागरिकलाई यस क्षेत्रबाट सेवा दिन सबै प्रकारको सरकारी कार्यालय राख्ने पहल भइरहेको स्थानीय मोहन धौलारीको भनाइ छ ।

भौगोलिक कठिनाई भए तापनि सुरक्षा कर्मीबाट नियमित गस्ती हुने गरेको छ । सुरक्षाकर्मीको सङ्ख्या पर्याप्त नभएको र खुल्ला सीमा भएर पनि सीमा प्रहरी चौकीले सुरक्षा प्रदान गर्दैआएको सुरक्षाकर्मी रीता भट्टराईले बताउनुभयो ।

नागरिकलाई थप सेवा दिने प्रयास भइरहेको र उक्त स्थानको सुरक्षा सेवा मजबुत बनाउन समेत पहल गरिरहेको पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभएको छ । रासस

LIVE TV