१० चैत्र २०७३, बिहीबार

 

तेह्रथुम । चार वर्षअघि मात्र तेह्रथुमको आठराई इवाका किसान अलैँची बेच्न पिठ्यूँमा बोरा बोकेर पाँचथरको सदरमुकाम फिदिमसम्म पैदलै पुग्थे । उतिबेला प्रति केजी रु १० त बोकानी भाडा मात्र तिर्नुपथ्र्यो ।

त्यति टाढाको बाटो बोकाएर लगेपछि हात परेको दाममा चित्त बुझाउनुबाहेक विकल्प हुन्थेन किसानलाई । उनीहरुले भाग्य हुँदा राम्रै भाउ पाउँथे, नभए अमिलो मुख लाएर हतारमा घर फर्कनुको विकल्प पनि थिएन । बजारसम्म ल्याउन र बेच्नै समस्या भएपछि बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन । कति कृषि उपज त माटोमा त्यत्तिकै फल्थे, त्यहीँ मिल्थे ।

पूर्वी पहाडका दुर्गम भेगका तिनै किसान अचेल अलैँची बेच्न दिनभर हिँडेर बजार झरेका कुरा कथाजस्तै सुनाउँछन् । उनीहरु भन्छन्, “अहिले त हामी व्यावसायिक तरकारी, फलफूल खेती र अकबरे पनि लगाउन थालेका छौँ । बजारको कुनै सुर्ता छैन । किन्ने घरै आउँछन् । नआए बिहान गयो, बेच्यो, साँझ घर फि¥यो ।”

पूर्वी पहाडका गाउँमा भइरहेकोे परिवर्तनको कारण हो यहाँको सडक सञ्जाल र त्यससँगै जोडिएर आएको मध्यपहाडी लोकमार्ग जसले उत्पादनलाई बजारसँग, गाउँलाई सहरसँग, किसानलाई उद्यमशीलतासँग र गरिबीलाई समृद्धिसँग क्रमशः जोडिरहेको छ । “पहिले यही अलैँची बेच्न पाइएला कि नपाइएला रु भन्ने चिन्ताले निन्द्रा लाग्थेन, अहिले त अदुवा र अम्लिसो पनि लगाएको छुँ, तै पनि मज्जाले सुत्छु,” इवाका कृषक राम पौडेल भन्छन्, “नाम्लो लाउनु पर्दैन, गाडी गाउँमै आउँछ ।”

छातेढुङ्गाका अर्का किसान चन्द्र तिवारीकोे उत्साह त यतिसम्म बढेको छ कि उनले यसपालि एक सय ५० वटा स्याउ पनि रोप्न भ्याए, आफ्नो उही खेतमा, जहाँ कुनै बेला गहुँ र मकै रोप्नुको विकल्प उनीसँग थिएन । “व्यापारी गाडी चढेर घरघरै सामान किन्न आइरहेका छन्, त्यही देखेर यसपालि स्याउ लगाएको छु, कस्तो फल्दोरैछ, हेरुँ,” उनले भने । सडक बन्दैमा आफैँ कतै पनि विकास हुँदैन । तर विकास हुनलाई सडक नभई पनि हुँदैन । फेरि सडक बन्दैमा पैसा ह्वारह्वार्ती गाउँ छिर्ने पनि होइन । त्यसैले सडक जति दुर्गमका बस्तीभित्र सम्म पस्दै जान्छ, विकासको उज्यालो पनि क्रमशः छिर्छ ।

यही रहस्य बुझेका पुर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गमका बासिन्दा सडक सञ्जालमा धमाधम जोडिँदै छन् । यहाँ बर्सेनि सडक सञ्जाल तीव्ररुपमा फैलिँदो छ । त्यसो त पूर्वी तराईसँग जोडिन मात्र एक दशकदेखि तड्पिरहेका यिनीहरु एकैसाथ पूर्व–पश्चिम जोडिने अभियानमा पनि छन् । पहाडै–पहाड पूर्वदेखि पश्चिमसँग नाता गाँस्ने राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गले पनि यिनीहरुलाई बजारसम्म जोडेको छ ।

पूर्वमा चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म प्रस्तावित करिब एक हजार सात सय किलोमिटर लामो लोकमार्गले तेह्रथुमका डेढ दर्जनभन्दा बढी गाउँलाई छोएको छ । सडकले छोएका छेउछाउका बस्तीको फेरिँदो मुहार र व्यावसायिक बन्ने तर्खरमा रहेका किसानले सडकले ल्याउँदै गरेको परिवर्तनको छनक दिन्छन् ।

जिल्लामा मध्यपहाडी लोकमार्गलाई केन्द्र मानेर पनि स्थानीयस्तरमा विभिन्न गाउँ जोड्ने कृषि सडक निर्माण गरिएका छन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ३३ वटा सडक निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । कालोपत्रे सडकले सदरमुकाम र केही गाविसलाई मात्र छोएको भए पनि जिल्लाका सबै गाउँलाई कच्ची सडकले जोडिसकेको जिल्ला समन्वय समितिका सूचना अधिकारी देवेन्द्र निरौलाले बताउँछन् । उनका अनुसार कतिपय गाविसमा टोल–टोलसम्म समेत सडक पुगेको छ ।

विशेषगरी सडक सञ्जालमा पछि मात्र जोडिएका खोरुङ्गा खोलापारिका बासिन्दालाई सडक निर्माणले निकै खुसी तुल्याएको छ । यस भेगका ओयाक्जुङ, जलजले, सिम्ले, इसिवु, सम्दु, खाम्लालुङ, सक्रान्तिबजार, इवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र छथर क्षेत्रका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, आङ्दिम, हमरजुङलगायत गाउँमा सडकले विकासको बाटोमा जनतालाई डो¥याइरहेको छ । यीमध्ये छथरबाहेकका गाउँलार्ई मध्यपहाडी लोकमार्गले पनि छोएको छ ।

सदरमुकामदेखि दुई दिनसम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको आठराई क्षेत्रका बासिन्दा अब सडकसँग जोडिएपछि सदरमुकाम पनि नजिकिएको छ । निर्माणाधीन ग्रामीण सडकमै पनि सवारी सञ्चालन हुन थालेपछि आजभोलि आठराईबाटै पनि एकै दिनमा सदरमुकाम आएर काम सकेर भोलिपल्ट फर्कन सजिलो भएको नागरिक समाजका अध्यक्ष अनिरुद्र तिम्सिनाले बताउँछन् । सडक नबनुन्जेल आठराईवासीको व्यापारिक केन्द्र पाँचथर सदरमुकाम फिदिमबजार थियो । बिहान रातिबाट हिँडेका पसिनाका धारा चुहाउँदै साँझ बल्ल फिदिम पुगेर एक दिन बसेर किनमेल गर्थे र फिर्थे । तर सडक बनेपछि आठराईवासी एकै दिनमा फिदिम पुगेर किनमेल गरेर फर्किने गरेका छन् ।

पाँचथरको फिदिमका एक होटल व्यवसायी भन्छन्–“किनमेल गर्न आउनेको भीड लाग्थ्यो । होटलमा खाना खाने र बास बस्ने खचाखच हुन्थे । गाउँ–गाउँमा बाटो बनेपछि बास बस्ने घटे, होटलको व्यवसाय सुक्यो । अचेल त दैनिक उपभोग्य सामग्री समेत उतै पुग्न थालेको छ, सामान किन्ने मानिस उति साह्रो आउँदैनन्,” उनले थपे – “सरकारी वा अरू सानातिना काम लिएर आउने पनि बिहान आएर बेलुकी फर्कन्छन् । सडक खुलेपछि पाँचथरको फिदिमका धेरै होटल विस्थापित पनि भएका छन् । फिदिममा पर्यटकलाई लक्ष्य गरी खोलिएका ठूला लगानीका होटल सञ्चालनमा रहे पनि सानातिना होटल कम मात्र छन् ।”

लोकमार्गलाई आधार बनाएर विभिन्न गाउँमा मोटरबाटो पुगेको र त्यसैका कारण आठराई क्षेत्रका बासिन्दा पनि आर्थिक तथा सामाजिकरूपले परिवर्तनकोे दिशामा उन्मुख रहेको चुहानडाँडाका समाजसेवी रामचन्द्र थपलिया बताउँछन् । “विशेषतः यसले स्थानीयवासीलाई सडकको महत्व बुझाएको छ,” उनले भने–“त्यही भएर गाविस, जिविसको बजेट र स्थानीयवासीसँग रकम सङ्कलन गरेर बाटो निर्माणलाई महत्व दिइयो र अहिले टोल–टोल सडकसँग जोडिएका छन् ।” यस क्षेत्रमा कतिपयले निजी प्रयासमा पनि आफ्नो टोल तथा घरैसम्म बाटो पु¥याएको थपलिया बताउँछन् । रासस

LIVE TV