९ चैत्र २०७३, बुधबार

काठमाडौं । ‘थ्रेसहोल्ड’ को पछिल्लो प्रावधानप्रति विरोध जनाउँदै साना दलहरुले आजको व्यवस्थापिका संसदको पहिलो बैठक बहिष्कार गरेका छन् ।

संसद बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई प्रस्तुत गर्न सभामुख ओनसरी घर्तीले अनुमति दिनसाथ साना दलहरु नाराबाजी गर्दै संसदबाट बाहिरिएका हुन् ।
संसद बैठक बहिष्कार गर्नेमा सीपी मैनाली नेतृत्वको नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाल परिवार दल, दलित जनजाति पार्टी लगायत छन् । बैठकको सुरुमा बोल्दै साना दलका सांसदहरुले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने बाध्यकारी व्यवस्था संविधान र लोकतन्त्रविपरीत भएको भन्दै सो व्यवस्था रहेको विधेयक फिर्ता लिन आग्रह गरेका थिए ।
राष्ट्रिय दल बन्न कुल मतमध्ये समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने व्यवस्था गरिएको विधेयक आज नै राज्य व्यवस्था समिति र उपसमितिको बैठकबाट पारित गरिएको हो । राज्य व्यवस्था समितिका सभापति घर्तीले प्रस्तुत गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि आज नै छलफल गरिने भएको छ । त्यसका लागि आजै संसदको दोस्रो बैठक बोलाइएको छ ।

LIVE TV