९ चैत्र २०७३, बुधबार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिने दलहरुको प्रस्ताव संसदको राज्य व्यवस्था समितिले पारित गरेको छ । आज बसेको समिति बैठकले दलहरुको प्रस्ताव बहुमतले पारित गरेको हो ।

समितिको प्रस्तावलाई गृहमन्त्रीले विधेयकको रुपमा संसदमा पेस गरेपछि पारित हुन्छ र राष्ट्रपतिले स्वीकृत गरेपछि ऐन बनेर लागू हुनेछ । यसअघि बिहान राज्य व्यवस्था समिति सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ गृहकार्य टुंगाउँदै उपसमितिले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ राख्ने निर्णय गरेको थियो ।
बैठकमा उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले राजनीतिक दल सम्बन्धी विधेयकले आउँदा दिनमा लोकतान्त्रिक पद्धतीमार्फत दलहरुलाई नियमन गर्ने बताए ।
निर्वाचनमा खसेर सदर भएको कुल मत मध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा एक सिटको थ्रेसहोल्ड राख्ने दलहरुबीच सहमति बनेको थियो । उपसमितिका सदस्य तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले थ्रेसहोल्ड राख्न नहुने फरक मत राखेका थिए ।
बैठकमा केही सांसदहरुले ५ प्रतिशत थ्रेसहोल्ड राख्नु पर्ने अडान लिएका थिए ।

LIVE TV