९ चैत्र २०७३, बुधबार

आज विश्व पानी दिवस, नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दैछन् ।


विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै विश्व पानी दिवस मनाउने गरिएको हो । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।। उर्जाका सबै स्वरुपको उत्पादनका लागि पानी अत्यावश्यक पर्ने तथा पानीको निकास, उपचार र वितरणको सबै चरणमा उर्जा आवश्यक हुने भएकाले यी दुईलाई अलग गरेर हेर्न नहुनेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । विश्वभर बढ्दो जनसंख्यासंगै आउँदा दिनमा स्वच्छ पानी र उर्जाको माग विश्वभर अझै बढ्दै जाने र यो वृद्धिले सबै क्षेत्रमा ठूलो चुनौती निम्त्याउन सक्ने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । नेपालमा काठमाडौ उपत्यकालगायत शहरी क्षेत्रका बासिन्दाले पानीको निकै अभाव खेप्नुपरेको छ । जलश्रोतको धनी भनेर चिनिने नेपालमा जलश्रोतको सही सदुपयोग हुन नसक्दा पानीको अभाव अझै हट्न सकेको छैन ।

LIVE TV