८ चैत्र २०७३, मंगलवार
  • रिया भण्डारी,

काठमाडौं । धुलो र धुँवा यतिखेर काठमाडौंको परिचय नै बनेको छ । मेलम्ची खानेपानी वितरणको तयारीले गर्दा काठमाडौं कुरुप बनेको छ । धुलो खपिनसक्नु गरि खाँदै आएका काठमाडौंवासीले मास्कको प्रयोगमा पनि ध्यान दिनुपर्ने अवस्था आइलागेको छ । काठमाडौंको वायुमा २ दशमलब ५ माइक्रोमिटर भन्दा पनि सूक्ष्म धुलोका कण भेटिएको छ । ती कण छेक्न बजारमा पाइने कपडा मास्क प्रयोग गर्नु नगरे सरह नै भएको चिकित्सकहरुले बताएका छन् ।

 

यदि तपाई राजधानीको धुलोबाट बच्न कपडाको मास्क प्रयोग गर्नु हुन्छ भने अब सचेत हुनु होस् कपडाका माक्सले सामान्य मास्कले मोटोमोटी धुलोधुवाँबाट त बचाउँछ तर छानीछानी हानिकारक धुलो भित्र पठाउँछ । त्यसकारण सकेसम्म ‘एन ९५’ र ‘एन ९९’ मापदण्डअनुसारका मास्क लगाउँदा उत्तम हुने बिशेषज्ञहरुको सुझाब छ ।
नेपाल हेल्थ रिसर्च काउन्सिलले सन् २०१५ मा गरेको एक अध्ययनले हानिकारक कण छेक्न नसक्ने मास्क प्रयोगले नौजनाको ज्यान गएको देखाएको थियो । काठमाडौंमा प्रदूषण बढाउने कारक तत्व इँटा भट्टा र थोत्रा सवारीसाधन हुन् । त्यसमाथि मेलम्ची खानेपानी आयोजनाले पाइप लाइन बिच्छ्याउन सडक खन्दा प्रदूषण झनै डरलाग्दो बनेको छ । विस्तार गर्न भत्काइएका सडक अलपत्र छाड्दा पनि धुलोको प्रदूषण बढेको छ ।
निर्माणको काम गर्दा धुलो नियन्त्रणका लागि बेलाबेलामा पानी छम्कनुपर्ने बताउँछन् वातावरणविद्हरू । तर, सम्बन्धित निकायले यसमा ध्यान दिएको पाइदैन । राजधानीको धुलो संग पौठेजोरी गरिरहेका सर्बसाधारणले प्रदुषणबाट बच्न अरु माक्स महँगो हुने हुँदा पनि कपडाको माक्स प्रयोग गर्ने गरेको बताउछन् ।
सम्बन्धित निकायले ध्यान नदिंदा राजधानीमा कहिले सम्म माक्स लगाएर हिड्ने भनेर कहिले प्रश्न समेत गर्ने गरेका छन् ।
राजधानीमा वायु प्रदूषणबाट बच्न प्रयोग हुने कपडाको मास्कले धुलो र धुवाँको कण छेक्नै नसक्ने तथ्य समेत यस अघि सार्वजनिक भैसकेको छ। काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदूषणका कण छिर्ने पत्ता लागेको हो । प्रदूषण बढ्दै गएका कारण बजारिया कपडाको मास्कको बिक्री बढिरहेको बताउँछन् ब्यबसायीहरु । तर बिडम्बना यस्ता कपडा मास्कले झन् संक्रमण बढ्ने चिकित्सकहरु बताउछन् ।
प्रदुषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर भइरहेको चिकित्सकहरु बताउँछन् यदि यस्तै स्थिति रहे भविष्यमा रोगीको संख्या विकरालरुपमा बढ्ने चेतावनी समेत चिकित्सकहरुले चेतावनी दिएका छन् । अब पनि सम्बन्धित निकाय गम्भीर नबने प्रदुषित राजधानीको नाम धुल्मान्डु हुँदै माक्समान्डु हुन् के बेर ?

 

LIVE TV