६ चैत्र २०७३, आईतवार

बाजुरा । बाजुरा जिल्लाका पाँच गाउँ पालिका र चार नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु भएको छ । सदरमुकाम मार्तडीको खुला मञ्चबाट जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखहरुलाई खुवाएर शुरु गरिएको अभियान जिल्लाका सबै गाउँमा सुरु भएको छ ।

हिमाली जिल्ला बाजुरा तीन जनामा हात्तीपाइले देखिएको छ । कुल्देमाण्डौंमा एक जना, काँडा र जगन्नाथमा एक एक जना विरामी फेला परेको छ । जिल्लामा औषधि वितरणका लागिसात सय ९१ स्वयमसेबक दुई सय पाँच जना स्वास्थ्यकर्मी खटिएको छ ।

दुई चरणमा खुवाइने हात्तीपाइले रोग विरुद्धको औषधि ढुक्क भएर खान सबैलाई आग्रह गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधि खान धेरैजनाले आनाकानी गर्ने गरेको पाइएपछि स्वास्थ्य मन्त्रालयले सबैलाई खान आग्रह गरेको छ । औषधि दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान हुदैन ।
हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोक्दा लाग्ने गर्दछ । हात्तीपाइले शारीरिक अशक्त र अपांग बनाउने सरुवा रोग हो । जिल्लाको सबै गाउपालिकामा औषधि पठाएको र नियमित अनुगमन भईरहेको हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका संयोजक टेकबहादुर खड्काले बताए ।
औषधि सबैले खानुपर्ने तथा औषधि खाएमा रोगको संक्रमण हुनबाट जोगिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा.रुपचन्द्र बिकले बताए ।
हात्तीपाइले रोग लागेपछि शारीरिक अशक्त हुने भएकाले यसबाट जोगिन सरकारले अभियानको रुपमा औषधि वितरण गरेको हो । अहिले हात्तीपाइले रोगको औषधि दुईचरणमा खुवाउने कार्यक्रम भइरहेको छ ।

LIVE TV