६ चैत्र २०७३, आईतवार

काठमाडौं । बाल बच्चाहरुको मानसिकता अत्यन्तै संवेदनशील हुन्छ । काँचो माटोको रुपमा चिनिने बालबालिकाहरुको मस्तिष्कमा अनेक विषयहरु खेल्ने गर्दछ । त्यस्ता बालबालिकालाई फकाएर, प्रलोभनमा पारेर बेचविखन गर्ने गिरोह पनि सक्रिय हुँदै आएका छन् । यस्तै भएको छ , नेपालका केहि बालबालिकाहरु माथि पनि ।

नेपालका विभिन्न जिल्लाका झण्डै ३५ जना बालबालिकाहरुलाई केहि समुहले यसरी नै फकाएर भारतमा लगे र उनीहरुलाई विभिन्न कार्यस्थलमा राखे । तर, ति शोषित बालकहरु अन्तत सरकार र बिभिन्न संस्थाको सहयोगमा नेपाल फर्कन सफल भएपनि उनीहरुको स्थिति दयनीय छ । बालबालिकाको यो समुह । कोही भर्खर ४, ५ बर्षका कलिला देखिन्छन् । कोहीचाँही अलि उमरकै हुन् । नेपाली मुलकै हुन् यिनीहरु ।
यिनीहरु सिरहा, जनकपुर, सर्लाही, सप्तरी, धनुषा, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, पर्सा, नवलपरासी, रुपन्देही, गुल्मी, कंचनपुर बारा लगायतका जिल्लाका छन् । तर विभिन्न पारिवारिक बाध्यता , विभिन्न ब्यक्तिको प्रलोभनमा या आर्थिक उपार्जनकै लागि घरबाट भागेर भारत पुगेका थिए, यीनीहरु ।
भनेजस्तो काम नपाउने , पाएको काममा पनि मालिकको दुब्र्यबहारका कारण बेवारिसे बनेपछि विहारका विभिन्न बालगृहमा आश्रय लिन पुगेका थिए । हेर्दा निकै दयनीय लाग्ने यि बालबालिकाको दृश्यलाई भारतमा रहेका केहि व्यक्तिले नेपालको संस्थालाई जानकारी दियो र त्यहि जानकारी अनुरुप नेपाल सरकार र विभिन्न संस्थाले यिनीहरुलाई नेपाल फर्काए ।
विहारका विभिन्न बालगृहमा वेवारिसे नेपाली बालबालिका रहेको सुचना पाएपछि महिला बालबालिका समाज कल्याण मन्त्रालय केन्द्रीय बालकल्याण समितिले भारतको पट्ना स्थित समाज कल्याण विभागसंग पत्राचार गरेर शनिबार काठमाण्डौँ ल्याईएको छ । काठमाण्डौ ल्याईपछि उनीहरुको स्वास्थ्य जाँच गरिएको छ । जसमा धेरै बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएको समाजकल्याण परिषद्ले जानकारी दिएको छ ।
यिनीहरुलाई उद्धार गरिए लगतै परिवारहरु खोजी गर्दै सम्पर्कमा आएका छन् । उद्धार गरिएका मध्ये १९ जना बालबालिकाको अभिभावक पत्ता लागेको छ । आवश्यक परामर्शपछि अभिभावक पत्ता लागेका बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाइने र नलागेकाहरुलाई विभिन्न वालगृहमा राखिने बालकल्याण समितिको तयारी छ ।
कसले लग्यो यि बालबालिकालाई भारत वा कसरी पुगे यसको उत्तर पक्कै खोज्न जरुरी छ । यी बालबालिका त प्रतिनिधि पात्र मात्रै हुन् । यिनीहरु जस्तै नेपालका विभिन्न जिल्लाबाट यसरी नै आर्थिक लोभमा परेर बालबालिका बेचविखन हुने क्रम घटेको छैन ।
जब सम्म सरकारले बालबालिकालाई प्रलोभनमा पार्ने समुहको खोजी गर्दैन तब सम्म यस्ता बालबालिकाहरु विभिन्न होटल, पसल एवं कारखानामा बेवारिसे रुपमा आफना भविष्य अन्धकार पार्दै गरेको भेट्न सकिन्छ । जसलाई सरकारले यो घटनालाई लिएर थप खोज र अनुसन्धान गर्न पक्कै जरुरी छ ।

LIVE TV