६ चैत्र २०७३, आईतवार
  • तारा आचार्य,

मोरङ । उपप्रधानमन्त्री र संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आधुनिक नेपालको इतिहासमा पहिलो पटक स्थानीय सरकारको मौलिक प्रयोग भईरहेको बताएका छन् । उनले सक्षम, सबल र व्यवस्थित स्थानीय तह हस्तान्तरण गर्ने गरी कार्य गर्न गाँउपालिका र नगरपालिकाका कार्यकारी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

आइतवार विराटनगर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मोरङका उपमहानगरपालिका, नगरपालिका र गाँउ पालिकाका कार्यकारी अधिकृतहरुलाई निर्देशन दिदै उपप्रधानमन्त्री थापाले विगतमा जस्तो स्थानीय तहलाई नाम, स्वरुप र संख्या परिवर्तनका रुपमा मात्र नलिन आग्रह गर्दै स्थानीय सरकार कार्यान्वयन भएपछि १० वर्ष भित्र मुलुकमा आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरण हुने दाबी गरे ।
उनले स्थानीय सरकारलाई कार्यपालिका, व्यवस्थापिका र केही न्यायपालिकाको अधिकार समेत संविधानले प्रत्यायोजन गरेकाले स्थानीय तहको अधिकार बारे राजनैतिक दल तथा स्थानीय जनतालाई जानकारी गराउन आग्रह गरे ।
स्थानीय विकास मन्त्री थापाले अब जिल्ला समन्वय समिति भावनात्मक कार्यालय मात्र रहने जानकारी दिदै जिल्लामा रहेका अन्य कार्यालयहरुलाई समेत स्थानीय सरकारमा गाभ्ने प्रक्रिया शुरु भईसकेको बताए ।
उनले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अघि सम्म जनतालाई विगतमा जस्तै सेवाप्रवाह जारी राख्न कर्मचारीहरुलाई निर्देशन दिए । सो कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जिल्ला समन्वय समितिले यस आर्थिक वर्षमा गर्ने कार्यहरु बारे जानकारी गराउनुका साथै स्थानीय तहको विवाद बारे अवगत गराएका थिए ।

LIVE TV