६ चैत्र २०७३, आईतवार

काठमाडौँ  । व्यवस्थापिका संसदले स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण दुईवटा विधेयक आज पारित गर्दैछ । यी दुई विधेयक पारित भएपछि स्थानीय तह निर्वाचनका लागि कुनै कानूनी व्यवधान रहने छैनन् । 

व्यवस्थापिका संसदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले पेश गर्ने गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पारित गर्ने कार्यसूचि छ । दुवै विधेयक संसदमा सामान्य छलफल गरि पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । यस्तै, आजै पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सुविधा सम्बन्धी विधेयक पारित गर्ने तयारी छ । संसदले पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक २०७३ सामान्य छलफल गरि फाष्टट्रयाकबाट पारित गर्न लागेको हो । यो विधेयक उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पेश गर्नुहुनेछ ।
संसदले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक तथा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा र सुविधाका अन्य शर्त सम्बन्धी विधेयक आज नै समितिमा छलफलका लागि पठाउनेछ ।

LIVE TV