५ चैत्र २०७३, शनिबार

काठमाडौं । केन्द्रीय बालकल्याण समितिले विहारका विभिन्न स्थानबाट ३४ जना नेपाली बालबालिकाको उद्धार गरेको छ । विहार राज्यका विभिन्न बालगृहहरुमा रहेका ३४ जना बालबालिकालाई बालकल्याण समितिले उद्धार गरेको हो ।

३४ जना बालबालिकाको उद्धार गरेर टोली शनिबार विहान काठमाडौं आइपुगेको छ । उद्धार गरिएका बालबालिका ५ वर्षदेखि १७ वर्षसम्मका रहेका छन् ।
मुजफ्फरपुरमा रहेको निर्देश बालगृहबाट १७ जना बालक, सेवा संकल्प बालिका गृह मुजफ्फरपुरबाट २ जना बालिका र दरभंगा बालगृहबाट १४ जना बालकको समितिले उद्धार गरेको हो । सिराहा, जनकपुर,सर्लाही, सप्तरी, धनुषा, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, पर्सा, नवलपरासी, रुपन्देही, गुल्मी, कंचनपुर बाराका बालबालिकाको बालकल्याण समितिले उद्धार गरेको हो ।
घरबाट भागेर, कसैको बहकाउमा लागेर र काम गर्न गएकाहरुलाई विहारका विभिन्न गैरसरकारी संस्था र प्रहरी मिलेर उनीहरुलाई बालगृहमा लगेर राखेको थियो । उद्धार गरिएका मध्ये १९ जना बालबालिकाको अभिभावक पत्ता लागेको छ । आवश्यक परामर्शपछि अभिभावक पत्ता लागेका बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाइने र नलागेकाहरुलाई विभिन्न वालगृहमा राखिने बालकल्याण समितिले जनाएको छ ।

LIVE TV