५ चैत्र २०७३, शनिबार
  • कृष्ण पाण्डे,

रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि बेलहियासम्मको सडक ६ लेनको बन्ने घोषणासंगै निर्माण सुरु भएको पनि वर्षौ वितिसक्यो । सम्पूर्ण रुपन्देहीबासीमा खुसीको सञ्चार गराएको यो सडकले अहिले आएर भने रुपन्देहीवासीलाई निराश तुल्याउन थालेको छ । निर्माण सुरु भएको बर्षौंसम्म पनि निर्माण कार्यले गति लिन नसक्दा अहिले यो सडक नबन्ने हो कि भन्ने चिन्ताले पनि रुपन्देहीवासीलाई सताउन थालेको छ ।


बुटवल चौराहदेखि नेपाल भारत सिमाना बेलहियासम्मको कुल २६ किमी सडक निर्माण सुरुभएको ५ बर्ष बित्न लाग्दा पनि निर्माण कार्य भने ४० प्रतिशत भन्दा माथि उठ्न सकेको छैन । नेपालकै नमुना र महत्वाकांक्षी सडक निर्माण एवं बिस्तार आयोजना भनेर प्रसार गरेपनि बुटवल बेलहिया सडकको अधिकांश खण्ड जिर्ण र अस्तब्यस्त हुँदा उक्त खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती पाउन थालेका छन् । बुटवलदेखि भैरहवासम्मको र भैरहवादेखि बेलहिया सममको ६ लेनको सडक निर्माणले यसक्षेत्रको पूर्वाधार बिकासको ढोका उघार्ने बिश्वास गरिएको थियो ।
तर ५ बर्षमा निर्माण सम्पन्न गर्ने गरि अघि बढाईएको सो ६ लेनको सडक निर्माण अवधि सकिन लाग्दा पनि आधाजति पनि काम हुन नसक्नु दुःखको पक्ष भएको स्थानीयवासीको गुनासो छ ।
सडकको बिचमा डिभाईडर सहितको ४ लेन सडकका साथै छेउमा ग्रिनरी प्लेट सहितको २ लेनको सर्भिस रोड बनाउने र नेपालकै आकर्षक सडकका रुपमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यस्तो बहुप्रतीक्षित र महत्वाकांक्षी सडक निर्माण कछुवाको गतिमा हुदाँ निर्माण सामग्रीको थुप्रो र सडकमा उठेको धुलोका कारण स्थानीयवासी हैरान भएका छन ।
सुस्त गतिमा भएको निर्माणले समयमै निर्माण नहुने निश्चित जस्तै भइसकेको छ भने निर्माणमा संलग्न निर्माण कम्पनी र प्राविधिले आफ्नो कारणले ढिलाई नभएको दावी गरेका छन् । सडक छेउका रुख बिरुवा हटाउन, सडक किनारका घरहरु भत्काउन, नाली तथा ढल निकासको ब्यबस्थापन गर्न, सडक निर्माणका लागि आवश्यक पुर्वाधार, उपकरण र सामग्री जुटाउनका लागि समय बढी लागेको तथा भूकम्प र नाकाबन्दी कारण निर्माणमा ढिलो भएको उक्त सडक निर्माणमा खटिएका प्राविधिकको भनाई छ ।
निर्धारित समयमै सम्पन्न नहुने निर्माणमा संलग्न प्राविधिकहरुले नै स्वीकारेका छन् भने उनीहरुले नै अझै २ वर्ष लाग्ने बताउन थालेका छन् । घोषणा गर्न हतार गर्ने तर काम गर्न भने नहतारिन शैलीको शिकार बनेको यो सडकले रुपन्देहीवासीलाई अब भने थप सकसमा नपारोस ।

 

LIVE TV