५ चैत्र २०७३, शनिबार
  • दानबहादुर बुढा,

मुग । महिला तथा बालबालिकाहरुमा व्याप्त देखिएको पोषणको अभावलाई निस्तेज गरि कुपोषणको अवस्थालाई सुधार गर्न मुगुमा बहु क्षेत्रीय योजना लागु हुने भएको छ । यस योजनालाई सफल पार्न चालु आर्थिक वर्षको बजेटमा मुगुका लागि ९१ लाख विनियोजन गरिएको छ ।

मुगुमा रहेका गर्भवती महिला, जन्मेदेखि पाँच वर्षसम्मका बालबालिका तथा सुत्केरी आमाको स्वास्थ्य अवस्थामा सुधार ल्याई दिगो विकास लक्ष्यलाई पुरा गर्न संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बाल विकास कोष (युनिसेफ )को सहयोगमा नेपाल सरकार स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले कुपोषण नियन्त्रणको लागि मुगुमा परियोजना संचालन गर्न लागेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका जन स्वास्थ्य अधिकृत योगेन्द्र न्यौपानेले जानकारी दिए ।
आर्थिक विपन्नता , अशिक्षा, पौष्टिक तत्वको असन्तुलनले पुड्कोपना , ख्याउटेपन र उमेर अनुसार कम शारीरिक तौलका कारण कुपोषण हुने र यसले समग्र देशको विकासमा अवरोध पु¥याउने भएकोले सरकारले पाँच वर्ष भित्र योजना कार्यन्वयन गर्ने गरि देशका विभिन्न २८ जिल्लामा यो योजना सञ्चालन गर्न लागेको हो ।
२८ वटा जिल्ला मध्ये कर्णालीका मुगु , हुम्ला र डोल्पा गरि तिन जिल्लामा योजना सञ्चालन हुने भएको छ । नेपालमा ६ महिना देखि २३ महिनासम्मका ७० प्रतिशत बालबालिकाहरुमा रक्त अल्पता देखिएको बाल स्वास्थ्य महाशाखाको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार नेपालमा रक्तअल्पता भएका किशोरीको संख्या ३८.५ प्रतिशत, १५ वर्ष देखि ४५ वर्षसम्मका महिला ३५ प्रतिशत र ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पता भएको पाइएको छ ।
त्यस्तै नेपालमा कुपोषित भएका बालबालिकाको संख्या ४१ प्रतिशत रहेको महाशाखाको तथ्याकंमा उल्लेख छ । स्थानीय स्तरमा उत्पादन हुने खाद्य बस्तुलाई सुन्तलन मिलाउन र स्थानीय स्तरमा पोषिलो खाद्य उत्पादनमा जोड दिई खाद्य सन्तुलनमा विशेष ध्यान दिने राष्ट्रिय योजना आयोग सचिवालयका योजना अधिकृत चुडामणि अर्यालले जानकारी दिए ।
जिल्लामा विगतमा कुपोषणको अवस्था १९ प्रतिशत रहेकोमा साउन यता त्यो संख्या घटेर ११ प्रतिशत झरेको र बहु क्षेत्रीय योजनाले जिल्लाको पोषणको अवस्थालाई अझै सुधार गर्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुका पोषण कार्यक्रम फोकल पर्सन परशुराम नेपालीले बताए ।
योजनाको चालु आर्थिक वर्षको बजेट ९१ लाख रहेको छ भने जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका र वडा पालिकाले पोषण सम्बन्धि कार्यक्रमलाई आपसी समन्वयमा एकीकृत गरि सञ्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

 

LIVE TV