५ चैत्र २०७३, शनिबार

 

त्रिशूली । मुलुकभर रहेका जिवित कुमारीको बृहत् पूजा कार्यक्रमअन्तर्गत नुवाकोटको भैरवीदेवी मन्दिरमा रहनुभएका नुवाकोट कुमारी (दिनिशा डँगोल)को पूजा गरिएको छ ।

जिवित कुमारीको दोस्रो बृहत् पूजा कार्यक्रमअन्तर्गत उपत्यकाबाहिर रहनुभएका एकमात्र नुवाकोट कुमारीको ह्युमत मिसा पुचः काठमाडौँबाट आएका भक्तजनले कुमारीको पूजा गरेका हुन् ।

पाँच महिना हुँदा कुमारी हुनुभएका चार वर्षीया नुवाकोट कुमारीको पूजाले यहाँ रहेको तलेजु भवानी र भैरवीदेवीको मन्दिरको प्रचार र जिवित कुमारीको महत्व दर्शाउन सहयोग पुगेको ह्युमत मिसा पुचः काठमाडौँका प्रचार–प्रसार संयोजक राजु नापितले बताउनुभयो ।

काठमाडाँैको वसन्तपुरमा रहेको मुख्य जिवित कुमारीको पूजा गरी सुरु भएको जिवित कुमारीको दोस्रो बृहत् पूजा कार्यक्रमअन्तर्गत उपत्यकामा रहेका १० कुमारीको पूजापश्चात नुवाकोट कुमारीको पूजा गरी समापन गरिएको आयोजक ह्युमत मिसा पुचःका अध्यक्ष ज्ञानशोभा महर्जनले जानकारी दिनुभयो । जिवित कुमारीलाई तलेजु भवानीसँग साक्षात्कार गर्ने जिवित भगवानको रुपमा पुज्ने भएपनि नुवाकोटमा भने भैरवीदेवीको प्रतिनिधित्वको रुपमा पुजिदै आएको छ । रासस

LIVE TV