५ चैत्र २०७३, शनिबार
  • सन्तोष काफ्ले,

सुनसरी । धरान–१५ बाझोगरास्थित गणतन्त्र बस्तीमा दुई युवा समुहबीच सामान्य विवादमा झडप हुँदा एक युवाको ज्यान गएको छ । झडपका क्रममा एक युवाको छुरा प्रहारवाट मृृत्यु भएको हो । छुरा प्रहारबाट २६ वर्षीय भक्त राईको हत्या भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार धरान–१५ ललित टोलका शुक्रराज राई, रत्न खत्री, भुक्के भन्ने प्रज्वल तामाङको समुहले भक्तलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । पेट र छातीमा छुरा प्रहारपछि घाइते भक्तलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउदा ल्याउदै मृत्यु भएको थियो । प्रतिष्ठानमा पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार युवाहरुबीच झडप हँुदा धरान–१५ ललित टोलका शुक्रराज राई, रत्न खत्री, भुक्के भन्ने प्रज्वल तामाङ घाइते भएका छन् । हत्यामा संलग्न तीनजना राजन विक, राजु राई, बिक्रम परियार फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घाइतेहरुका अनुसार ललित टोलबाट हराएको साइकल नजिकैको गणतन्त्र बस्तीमा फेला परेपछि साइकल चोर खोज्दै जादा भक्त र उनीहरु वीच आइस्क्रिमको विषयमा विवाद भएको थियो । खत्री, राई, तामाङलगायतले बाटोमा विक्रि गरिरहेको आइस्क्रिम किनेर खाएको बेला भक्त राईले ‘किनेर खाएको कि त्यतिकै खाएको’ भनेर निहु खोजे पछि विवाद सुरु भएको घाइतेहरुले बताएका छन् ।
भक्तलाई कसले छुरा हानेको भन्ने कुरा स्वयम् घाइतेहरुले बताउन चाहेका छैनन् । यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताउनुभयो । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुले भक्तलाई आफूले नमारेको दाबी गरेका छन् ।

LIVE TV