५ चैत्र २०७३, शनिबार

बुटवल । जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकतालगायत सबैखाले सूचनालाई प्रविधिमैत्री बनाएर जनतालाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्ले आजदेखि बुटवलमा अभिमुखीकरण तालिम सुरु भएको छ ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त चार दिने अभिमुखिकरण तालिममा ५ नं प्रदेशका ११ जिल्लाका जिल्ला तथा इलाका प्रशासन कार्यालयका कर्मचारीको सहभागिता छन् । कर्मचारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य तालिमले लिएको छ ।

सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जनतालाई दिने सेवा सुविधा प्रविधिको विकासले छिटोछरितो र स्तरीय बनाउने भएकाले सबै कार्यालयमा आधुनिक प्रविधिको प्रयोग हुनुजरुरी भएको छ भने ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले जतिसक्दो प्रविधिको प्रयोग र व्यवस्थापन गर्न सकिन्छ, कार्यालयबाट जनतालाई प्रदान गरिने सेवा सुविधा त्यती नै सहज र सरल हुन्छ भन्दै प्रविधिको विकासँगै दक्ष जनशक्ति र तालिमको अवसरमा कमी भएकाले व्यवस्थापनमा केहि समस्या देखिएको बताए ।

गृह मन्त्रालयका उपसचिव श्रवणकुमार तिमिल्सिनाले हाल गृह मन्त्रालयले जिल्ला तथा इलाका प्रशासन कार्यालयहरुमा सूचना प्रविधिको विकास गरी जनतालाई सहज र छिटो छरितो सेवा प्रदान गरिँदै आएको बताए ।

गृह मन्त्रालयले नागरिकता प्रविधि व्यवस्थापन ९सिआइएमएस० सफ्टवेयरको विकास गरी जनतालाई छिटोछरितो नागरिकता वितरण गर्न र देशभरिका नागरिकतालाई अभिलेखीकरण गर्ने काम भएको बताउँदै उनले भने – ‘देशभरिका झन्डै एक करोड ७५ लाख नागरिकता यसै सफ्टवेयरमा अभिलेखीकरण गरिएको छ ।’

LIVE TV