५ चैत्र २०७३, शनिबार

काठमाडौं,निर्वाचन आयोगले निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । देशैभर एकै चरणमा निर्वाचन गराउन राजनीतिक वातावरण निर्माण गर्नु पहिलो अनिवार्य सर्त रहेको भन्दै प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकारसँग त्यस्तो आग्रह गरेका हुन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा यादवले निर्वाचनका लागि आयोगले गरिरहेको तयारीबारे जानकारी गराउँदै सरकारको तयारीका विषयमा पनि चासो राखेका थिए ।

यादवले खासगरी २ नम्बर प्रदेशमा देखिएको राजनीतिक समस्या र सुरक्षा व्यवस्थाका विषयमा प्रधानमन्त्रीसँग चिन्ता व्यक्त गरेको स्रोतले बताएको छ । मधेसी मोर्चाले २ नम्बर प्रदेशमा निर्वाचन कार्यालय स्थापना गर्न नदिने, निर्वाचनमा असहयोग हुने गरी सरकारविरुद्ध अवज्ञा आन्दोलन गर्ने घोषणा गरेपछि यादवले प्रधानमन्त्रीसँग चिन्ता व्यक्त गरेका हुन् ।

घोषित मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले चैत अन्तिमसम्ममा सम्पूर्ण जिल्लामा निर्वाचन कार्यालय स्थापना गर्ने र जनशक्ति पठाइसक्नुपर्ने हुन्छ । त्यसको तयारीमा लागेको आयोगले प्रधानमन्त्रीसँग सुरक्षा र राजनीतिक वातावरण निर्माणका विषयमा सरकारको तयारी बुझ्न खोजेको छ ।

‘निर्वाचनका निम्ति आयोगले गरिरहेको तयारीबारे मैले प्रधानमन्त्रीलाई जानकारी गराएँ,’ प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिँदै डा. यादवले भने, ‘मतपत्र छाप्न सुरु हुँदै छ । जनशक्तिहरू पठाउनुपर्ने समय आउँदै छ । यस्तो अवस्थामा सरकारले राजनीतिक वातावरण सुधार गर्न विशेष पहल गर्नुपर्यो‍ भन्ने कुरा मैले राखेँ ।’

जवाफमा प्रधानमन्त्रीले राजनीतिक वातावरण निर्माण गर्न मधेसी मोर्चालगायतसँग छलफल भइरहेको जानकारी गराएका थिए । प्रधानमन्त्रीले आयोगलाई आफ्नो कामलाई युद्धस्तरमा अगाडि बढाउन आग्रह गर्दै सरकारले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वासन दिए । ‘सुरक्षाको प्रत्याभूति हामी दिन्छौँ । केही जिल्लामा बाहेक अन्यत्र सुरक्षा चुनौती छैन । मधेसी मोर्चासँग पनि वार्ता भइरहेको छ, समस्या समाधान हुन्छ, तपाईंहरू अगाडि बढ्नुहोस् भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभयो,’ डा. यादवले भने ।

LIVE TV