४ चैत्र २०७३, शुक्रबार
  • दानबहादुर बुढा,

मुगु । विकटता र अभाव आफैमा श्राप हुन ? यो प्रश्नले लामो समयदेखि मुगुवासीहरुलाई घोचीरहेको छ । कहिले खाद्यान्न अभावले पिरोलिने मुगुवासीहरु स्वास्थ्य सम्बन्धि सामान्य सुविधाबाट पनि ठगिए र ठगिदै आएका छन् । कति सुत्केरीले अकालमा ज्यान गुमाए, कति युवाहरु सामान्य उपचार नपाउँदा बीस नकट्दै ब्रम्हलिनमा बाध्य भए ।

उपचारको नाममा अस्पतालको बोर्ड र दुई चार सामान्य औषधि मात्र पाउने मुगुवासी अब भने दङ्ग परेका छन् । मुगु जिल्ला अस्पतालमा बिभिन्न विमारका लागि शल्यक्रियाको व्यवस्था भएपछि उनीहरु खुसी देखिएका छन् ।
पुलु गाविस वडा नम्बर ३ पुअ गाउँका २० वर्षीय छिरिङ्ग लामाको एक्कासि पेट दुखे पछि आफन्तले रातारात गाउँबाट जिल्ला अस्पताल पु¥याए । तर जिल्ला अस्पताल पु¥याउदासम्म उनको अवस्था जटिल बनि सकेको थियो । २४ घण्टा भित्र शल्यक्रिया गर्नु पर्ने र लामाको एपेण्डिसाईडका कारण आन्द्रा फुटी सकेको भन्दै सुविधा सम्पन्न ठाउँमा लैजान भने पछि उनलाई गत माघ ६ गते विहान आफन्तले ताल्चा विमानस्थल पु¥याए ।
तर प्रतिकुल मौसमका कारण हवाई उडान ढिलो भएपछि उनको विमानस्थलमा जहाज कुर्दा कुर्दै मृत्यु भयो । मृतक लामा प्रतिनिधि पात्र मात्र हुन, विगतका वर्षहरुमा कतिपय गर्भवती महिलाले जिल्ला अस्पताल पुगे पनि दक्ष र विशेषज्ञ चिकित्सकको अभावमा बच्चा जन्माउन नसकेर, अत्याधिक रक्तश्राव भएर ज्यान गुमाए त कतिपयले घरमा नै सुत्केरी हुन खोज्दा ज्यान गुमाए ।
हुने खानेहरुले विरामी हुँदा हेलिकप्टर चार्टर गरि ज्यान बचाए तर गरीब त्यसै मरे र मरिरहेका छन् मुगुमा । तर अहिले जिल्ला अस्पतालमा गर्भवती महिलाका लागि प्रसुति शल्यक्रिया सेवा लगायत हाईड्रोसिल,हर्निया,एपेन्डिसाईड र सानाठूला खाले शल्यक्रिया सुरु भए पछि मुगालीले राहत महसुस गरेका छन ।
गएको मंगलवार पाठेघरको डिम्बनली फुटेर पेट भित्रै रक्तश्राप भई ज्यान जाने खतरामा रहेकी छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० सोभा गाँउकी चन्दा सावतको पहिलो पटक जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर जितेन्द्र कँडेलको नेतृत्वको टोलीले शल्यक्रिया गरेर ज्यान बचाउन सफल भयो ।
दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता भए पछि सावतको ज्यान जोगिएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज अधिकारी बताउनु हुन्छ ।
हालसम्म ६ जना गर्भवती महिलाको सफल शल्यक्रिया भएको कार्यालय प्रमुख डाक्टर अधिकारीले जानकारी दिनुभयो । जिल्ला अस्पताल मुगुमा अहिले ६ र प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका लागि एक गरेर सात जना डाक्टरले काम गर्न थालेका छन् ।
जिल्ला अस्पतालका लागि आवश्यक जनशक्ति पुगेपछि बिरामीहरु अन्यत्र अस्पतालमा जानु पर्ने बाध्यता हटेको छ । जिल्ला अस्पतालमा हुन नसक्ने बाहेक सबै खाले सेवा जिल्ला अस्पतालबाटै दिन सकिने अस्पतालले बताएको छ ।

LIVE TV