४ चैत्र २०७३, शुक्रबार
  • मकरराज धामी,

बझाङ । विकास निर्माणका लागि भनेर मुलुकमा वर्षैपिच्छे ठूलो रकम विनियोजन हुने गर्दछ । तर, ठेकेदार कम्पनीको लापरवाही र अनुगमनको अभाव विकासका लागि सधैं बाधक बन्ने गरेको छ । सुन्दै आश्चर्य लाग्ने यस्तै घटना बझाङमा पनि देखिएको छ ।

जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै बिग्रिएको हो ।
सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनीहरुको लापरवाहीले सडकमा ठूला–ठूला खाल्डा परेर यात्रा गर्न असजिलो भएको छ । कतिपय ठाउँमा सडकमै पानी जम्ने भएपछि यात्रुहरूले निकै सास्ती व्यहोर्नु परेको छ ।
सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् । कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले बिरामीहरूलाई यात्रा गर्न झनै कष्ट हुने गरेको स्थानीयको गुनासो छ ।
विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको उक्त सडकको बागथलादेखि झोतासम्म लुम्बीनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए ।
सडक समानान्तरमा निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएर सडकमा आउने र विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले पनि सडकमा खाल्डाखुल्डी भएका छन् । यसका कारण सवारी चालकलाई पनि समस्या हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ ।
ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीय सरोकारवालाहरुले बताउने गरेका छन् । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा कमाउने ठेकेदार र कमिसन खाने आयोजना कार्यालय कर्मचारीहरुका कारण यस्तो अवस्था आएको यातायात व्यवसायीको बुझाई छ ।
उता, योजना कार्यालयमा सडक बोर्डले रकम नदिने र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण छिट्टै सडक बिग्रिएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालको भनाइ छ ।
सडक निर्माढामा व्यापक लापरबाही भएपनि सम्बन्धित निकायले देखाएको मौनतालाई स्थानीयहरुले आश्चर्यका रुपमा लिएका छन् ।

LIVE TV