४ चैत्र २०७३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले आगामी चैत १० गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । असन्तुष्ट पक्षका नेताहरुको दवावपछि लामो समयदेखि बस्न नसकेको कांग्रेस केन्द्रीय समिति बैठक बस्ने तय भएको हो ।

बैठकमा संविधान संशोधन, आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी भएको छ । पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हँुदै आएको छ ।
यसैबीच, नेपाली काँग्रेसभित्र स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब बढेको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरुको शुक्रवार बिहान सिंहदरबारमा बसेको बैठकले केन्द्रीय समितिको बैठकबाट नै संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।

LIVE TV