४ चैत्र २०७३, शुक्रबार

काठमाडौँ,भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहिबार भेटवार्ता भएको छ ।

स्वास्थ्य समस्याका कारण आराम गरिरहेकी विदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाटअघि गृहमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच करिब १५ मिनेट छुट्टै भेटघाट भएको थियो ।

विदेश मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे विदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थिए ।कारोबार दैनिकमा खबर छ ।

भारतीय विदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण घटना घटेको बताउँदै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेकी थिइन् । त्यसपछि गृहमन्त्री निधिले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका उनका प्रेस विज्ञ रामजी दाहालले जानकारी दिए ।

जबाफमा विदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएकी प्रेस विज्ञ दाहालले बताए ।

भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमा स्तम्भलगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा भारतीय विदेशमन्त्रीले प्राबिधिक टिम थप्ने बिषयमा आफूहरु सकारात्मक भएको बताइन् ।

भारतीय सहयोगमा बन्ने हुलाकी राजमार्ग, महाकाली पुल लगायतका विकास निर्माणसम्बन्धी काम समयमै सम्पन्न गराउनका लागि पनि गृहमन्त्री निधिले विदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराए ।

उनले आगामी निर्बाचनका लागि गृहमन्त्रालय र निर्वाचन आयोगलाई विगतमा जस्तै यस वर्षपनि आवश्यक सामग्री सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री स्वराजले निर्वाचनका लागि आवश्यक सामग्री सहयोग गर्न भारत सरकार सकारात्मक रहेको बताएकी थिइन् ।

भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी भएका थिए । प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली गएका मन्त्री निधि शुक्रबार स्वदेश फर्कँदैछन् । 

LIVE TV