४ चैत्र २०७३, शुक्रबार

नुवाकोट,  चीनबाट भन्सार छलेर अबैधरुपमा रसुवागढी नाका हुँदै रसुवातर्फ ल्याउँदै गरेको सात किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।

बिहीबार साँझ केरुङबाट रसुवागढी भन्सार हुँदै गाडीको गेयर बक्समा लुकाएर रसुवातर्फ ल्याइरहेको अवैध सुनलाई रसुवागढी भन्सारका कर्मचारीको सहयोगमा प्रहरीले बरामद गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका–९ घर भएर रसुवाको लहरेपौवा–६ बस्दै आएका प्रकाश गैरेले केरुङबाट रसुवागढी भन्सार छलेर बा.१७ च २२७५ नम्बरको निजी स्कार्पियो गाडीको गेयरबक्समा लुकाएर ल्याएको सुन बरामद गरेको प्रहरी निरीक्षक धुब्रप्रसाद सिलवालले बताए ।कारोबार दैनिकमा खबर छ।

‘ठूलो परिणाममा भन्सार छलीको सुन आउँदैछ भन्ने सुराकीको आधारमा भन्सारको कर्मचारी र सीमा प्रहरी चौकी टिमुरेको टोलीले जाँच गर्ने क्रममा बिस्कुटको पुरिया आकारमा सात किलो सुन बरामद गरेका छौँ’, प्रहरी निरीक्षक सिलवालले भने, ‘आवश्यक अनुसन्धान गरी कारबाहीको लागि भन्सार विभागमा पठाउने छौँ ।’

भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द हुँदा चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यवासायिक नाका रसुवागढीबाट भन्सारबाट अवैधरुपमा सुन भित्रने क्रम वृद्धि हुँदै गएको छ ।

तातोपानी नाका बन्दपछि रसुवागढी नाकावाट तस्कर रोक्न रसुवागढी भन्सारमा सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाई गरे पनि सुन लगायतको अबैध सामाग्री भित्रने क्रम भने जारी रहेको छ । 

LIVE TV