३ चैत्र २०७३, बिहीबार

 

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अवकाशप्राप्त सेवानिवृत्त कर्मचारीलाई राज्यले सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज ‘पूर्वकर्मचारी सेवा परिषद्’को रजतजयन्ती समारोहमा उहाँले पूर्वकर्मचारीसँग देशको प्रशासन सञ्चालन गरेको अनुभव भएकाले देशको हितका लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले अन्य मुलुकको जस्तो यहाँका सेवानिवृत्त कर्मचारीलाई काममा लगाउन नसकेको धारणा राख्नुभयो ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले सेवानिवृत्त कर्मचारीले मुलुकको समृद्धिका लागि सहयोग पु¥याउन सक्ने भएकाले सरकारले कुनै योजना बनाई तिनको सदुपयोग गर्ने बताउनुभयो ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अहिलेको सङ्क्रमणकालीन अवस्थामा सरकारले नीति नै ल्याएर पूर्वकर्मचारीको उपयोग गर्नुपर्ने सुझाव दिनुभयो । “संविधानले नै पूर्वकर्मचारीलाई राष्ट्रसेवकमा सहभागी गराउने व्यवस्था गरेको छ”– उहाँले भन्नुभयो, “सरकारले चाँडै नै संविधानमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्दछ ।”
सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पूर्वकर्मचारीको ज्ञान र सीपलाई राष्ट्रले उपयोग गर्ने वातावरण मिलाइने धारणा राख्नुभयो । “आगामी वर्षदेखि पूर्वकर्मचारीलाई कसरी उपयोग गर्न सकिन्छ भनेर अर्थ मन्त्रालयसँग बजेट माग गरेर योजना बनाउँछौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँहरुलाई संविधान कार्यान्वयनको विज्ञका रुपमा लिनेछाँै ।” रासस

LIVE TV