३ चैत्र २०७३, बिहीबार

 

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय निर्वाचन व्यवस्थापनमा विशेष प्रकृतिको काम गर्नुपर्ने भएकाले आर्थिक निर्देशिका छिट्टै जारी गरिने बताउनुभएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि सुरु गरेको दुईदिने निर्वाचन सामग्री तथा लेखा व्यवस्थापनबारे मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले लेखा र सामग्री खरिद कार्यालयको नियमित प्रक्रिया भए पनि निर्वाचनको सम्बन्धमा गरिने सामग्रीको व्यवस्थापन फरक किसिमको हुने भएकाले तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्र र जिल्लास्तरमा सामान खरिद गर्दा गुणस्तरमा ध्यान दिन र सामग्रीको उचित भण्डारण गर्न निर्देशनसमेत दिनुभयो ।

आयोगका सहसचिव नवराज ढकालले निर्वाचनमा सरकारको धेरै ठूलो धनराशि खर्च हुने र व्यवस्थापनका हिसाबले करिब २१ हजार मतदान केन्द्रमा एकै मितिमा व्यवस्थापन गर्नुपर्ने भएकाले तालिम आवश्यक रहेको तथा यसबाट निर्वाचनमा प्रयोग हुने रकमको सदुपयोग भई बेरूजुसमेत नहुने बताउनुभयो ।
आगामी स्थानीय निर्वाचनमा एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहनेछन् । यस पटक ७४४ स्थानीय तहका छ हजार छ सय ८० वडाबाट प्रतिनिधि निर्वाचित हुनेछन् ।
दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षणमा ३० जना सहभागी छन् । मुख्य प्रशिक्षकले क्षेत्र र क्षेत्रीय प्रशिक्षकले जिल्ला निर्वाचन अधिकारी, लेखा र भण्डारमा काम गर्ने कर्मचारीलाई प्रशिक्षण दिने आयोगले जनाएको छ ।

LIVE TV