२२ फाल्गुन २०७३, आईतवार

धादिङ । नागरिकता कुनै पनि मुलुकको सच्चा नागरिक बन्न पाउनुको बोध र प्रमाण हो । यसको सम्बन्ध कुनै पनि व्यक्ति जन्मिएको धर्ती र उस्ले टेक्ने त्यहाँको माटोसंग सम्बन्धित हुन्छ । जन्मिएपछि मातृभूमिको गुण तिर्न कुनै पनि व्यक्ति पछि पर्दैनन् । तर नागरिक हुनुको सरकारी प्रमाणका लागि नेपालमा भने निकै कष्ट व्यहोर्नु पर्ने अवस्था अझै पनि छ । सीमा पारीका कतिपयले सहजै यो अवस्था पाउने गरेपनि मुलुकका वास्तविक नागरिकले भने अझै धेरै पीडा र हण्डरहरु भोग्दै आउनु परेको छ ।

यिनी, पल्कुसङ तामाङ, उमेरले ८४ पुगिन् । उनको आँखामा आंशु छचल्किरहेको छ । उनले यो उमेरमा आएर बल्ल मुलुकको नागरिक हुँ भन्ने गर्व गर्ने अवस्थाको बोध गर्न पाएकी छिन् । ८४ वर्षको उमेरसम्म नागरिकताका लागि सरकारले कुनै पनि काम अघि नबढाउँदा नागरिकताविहीन बन्नु परेको पीडा बल्ल यीनको आँखाबाट बगेको आँशुले पखालेको छ ।
यिनी जस्तै धादिङको दार्खा गाविसकी २९ वर्षीया विमला नेपाली पनि आफनो आंशु थाम्न सकिनन् । नागरिकता पाएको तस्विर खिच्दै गर्दा उनका स्वरमा नागरिकता पाउनुको सुखानुभूति छर्लङ्ग देखिन्छ । नागरिकता वितरणका लागि विभिन्न विकट र ग्रामीण वस्तीहरुमा सरकारी टोली अहिलेसम्म नपुग्दा उनीहरु जस्ता धेरैको अवस्था अझै पनि यस्तै छ । स्थानीय दलित समुदायबाट आफुले पहिलो पटक नागरिकता पाउनु र नेपाल सरकारले जनताका लागि तोकेको सुरक्षा, सुविधा र दायित्वमा बाँधिन पाउँदा आफुलाई खुसी लागेको विमलाको कथन छ ।
मानवअधिकारका लागि महिला एकल महिला समुह, ओक्सफार्म, प्रयास नेपाल, युस एड र नेपालसरकारको सहयोगमा धादिङको किन्ताङफेदीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नागरिकता वितरण गर्न पाउँदा धादिङका प्रमुख जिल्ला अधिकारी पनि स्वयंलाई भाग्यमानी ठान्दछन् ।
धादिङमा देखिएको यस्तै दृश्यहरु मुलुकका विभिन्न ग्रामीण क्षेत्रमा देख्न सकिन्छ । जनताले नागरिकता पाउने अधिकारका लागि पनि अझै तड्पिनु परेको अवस्था छ । कुनै पनि सच्चा नेपाली नागरिक नागरिकता पाउने अधिकारबाट वञ्चित बन्नु राज्य नै विवेकहिन बनेको अवस्था हो ।

LIVE TV