१७ फाल्गुन २०७३, मंगलवार

बाजुरा । बाजुरामा पछिल्लो समय बन्द भएको पानी घट्ट पुनः सुरु भएको छ । पानीको अभावले बाध्यतावस बाजुराबासीले सुधारिएको पानी घट्ट सञ्चालन गरेका छन् । खोलामा पहिले पानी घट्ट चलाउनलाई प्रसस्त पानी भएको बाजुरामा पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेको छ । जसका कारण स्थानीयले नयाँ प्रबिधिको प्रयोग गरेर सुधारिएको पानी घट्ट चलाउन बाध्य भएका हुन् ।

पछिल्लो समय बाजुराको पुर्र्वी र उत्तर क्षेत्रमा तीन बर्ष देखि पानी परेको छैन जसका कारण जलासय र खोलाका मुलहरु सुकेका छन् । बाजुराका सबै गाउँ विकास समितिमा पानीको काकाकुल नै छ । जसका कारण धेरै पानीको आवश्कता पर्ने घट्टहरु पनि बन्द भएका छन् । केही बर्ष पहिले खोलै भरी घट्टमा अनाज पिस्नेहरुको लाईन् टाढा बाटै देख्न सकिन्थ्यो भने खोलाभरी लहरै बस्ती जस्तै घट्टका छानाहरु देखीने गरेको स्थानिय घट्टा व्यवसायीहरु बताउँछन् ।

यता डोगडी गाउँ विकास समितीको डोगडी खोलामा पानीको स्रोत घटेका कारण पुराना पानी घट्ट चल्न छोडेका छन् भने बाँकी रहेका घट्टहरु समेत बर्षादमा मात्र चल्ने गरेका छन् । थोरै पानीले पनि चलाउन सक्ने भएकाले अहिले सोही ठाँउमा एक लाख चालिस हजार खर्च गरेर सुधारिएको घट्टा निर्माण गर्न परेको स्थानीय घट्टा व्यवसायीहरुको भनाई छ ।

बाजुरामा पानी घट्टा मात्र होइन, अहिले गाई भैसीलाई खुवाउँने पानीको समेत समस्या भएको बताउँछन्, बाजुराबासीहरु । खेतमा पानी लगाउन कहिल्यै समस्या नहुने गाउँमा यतिबेला भागवण्डाका आधारमा महिनामा एक दिन मात्र पानी लगाउन पर्ने बाध्यता रहेको छ । जनसंख्या बृद्धि, जंगल फडानी र समयमा वर्षाद नहुने कारणले गर्दा बाजुरामा यो समस्या देखा परेको छ । वनजंगलको संरक्षण र वन फडानी रोक्न नसके बाजुरमा थप समस्या उत्पन्न हुनेमा त्रसित छन्, बाजुराबासी ।

 

LIVE TV